काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीमा पक्राउ गरिएका सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार बिहान विज्ञप्ति जारी गरी सभापति लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभएको जिकिर गर्दै हिरासतमुक्त गर्न माग गरेका हुन् ।
एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले भनेका छन्, ‘हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्ध कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौँ ।’
मंगलबार मात्र कास्की जिल्ला अदालतले रविविरुद्ध तेस्रोपटक ५ दिन म्याद थप गरेको छ । जसअनुसार प्रहरीले उनलाई अझै ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ ।