काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न तीन चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।
बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको बालिका होसमा नआएपछि स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पताल तोडफोडमा उत्रिएका थिए ।
त्यसपछि अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा सम्लग्न चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो ।
बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले बालिकाको मृत्यु भएको हुन सक्ने अनुमानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालबाट शब उठाउन मानेका छैनन् ।