Logo
Logo

उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी


567
Shares

काठमाडौं । मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको हो ।

१८ करोड ५१ लाख रुपैयाँ पुँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको पाइएपछि सहकारीकाे वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ ।

सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्यहरु आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर, लेखा समिति संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला कालोसूचीमा छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

कोइराला सञ्चालक भएको बेला लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहित अन्य सञ्चालकलाई कालो सूचीमा राखेको छ । उनीमाथि भने प्रशासन मौन छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

प्रहरीले कागजात जफत गरेपछि सहकारीका अध्यक्ष रौनियारले प्रहरीले जबरजस्ती सामग्री जफत गरेको आरोप लगाएका छन् । तर प्रहरी प्रवक्ता जोशीले सञ्चालक समितिले असहयोग गरेपछि जनप्रतिनिधिको रोहबरमा ताला फोडेर सामग्री जफत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्