संसारको सबैभन्दा राम्रो किताव स्वयं आफैं हो । आफूले आफैंलाई बुझ्न सके सवै समस्याको समाधान गर्न सकिन्छ । आफू र आफ्नो लक्ष्य, जीवनको वृत्ति विकासको आधारभूत सीपहरु प्रदान गर्नका लागि क्याम्प (शिविर)को अभ्यास विश्वको एक सफल अभ्यासका रुपमा रहेको पाइन्छ ।
विभिन्न विदाका समयमा अभिभावकीय व्यस्तता तर वालबालिका फूर्सदिला हुने कारण वालवालिकाहरुको समय सदुपयोग गर्न र उनीहरुलाई व्यस्त गरीराख्नका लागि शुरु भएको क्याम्पको अवधारणा वर्तमान समयमा आईपुग्दा बालबालिकाको जीवनउपयोगी सीप विकासका लागि अनिवार्य क्रियाकलापको भाष्यका रुपमा विकास भएको छ ।
बाल्यावस्था वा किशोरावस्थाको उमेर समूहका वालवालिका लागि सामाजिकिकरण र मित्रवतः भावनाको निर्माणका लागि यस्ता क्याम्पहरुले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । घरवाहिरको वातावरणमा सुरक्षित तवरले सामाजिक सीप, निर्णय सीप, वैचारिक आदानप्रदान, समस्या समाधानको खुवी, दौतरी समुहसँग अन्तरक्रियात्मक खुवी जस्ता सीपहरु निर्मित हुनु वालवालिकाका लागि पढाइ र पोषणले दिने वृद्धि र विकास भन्दा ठूलो विकासको अवस्था हो ।
त्यसैगरी यस्ता क्याम्पले वालवालिकाको व्यक्तित्वविकास र सिकाइमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । क्याम्पहरुमा कुनै विशेष विधा वा सिकाईको कुनै पक्षको खोज र चारित्रिक पक्षको वृद्धिलाई समावेश गरिएको हुन्छ । समर क्याम्प, विन्टर क्याम्प, फेस्टिभल क्याम्प, म्यूजिक क्याम्प, स्पोर्ट्स क्याम्प, कुकिङ क्याम्प, आर्ट क्याम्प, साइन्स क्याम्प जस्ता विभिन्न क्याम्पहरु विश्वव्यापी प्रयोगमा आएको देखिन्छ ।
यस्ता क्याम्पहरुमा वालवालिकाहरु खुसी मात्र होइन आफ्ना इच्छाहरुको खोज गरी सम्वन्धित चुनौतिहरुको सामना गरी शिक्षित हुने अवसर पाउँछन् । परम्परागत कक्षाभन्दा फरक वातावरणमा स्वःआत्मविश्वास विकास गर्दै समुहकार्य सीप विकास गर्दै वालवालिकाहरु आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर यस्ता क्याम्पहरुले प्रदान गरेको हुन्छ ।
क्याम्पमा हुने मेन्टरहरुको सहजीकरण, वालवालिकाहरुलाई प्रदान गरिने विभिन्न भूमिकाले उनीहरुमा सकारात्मक र स्वस्थ्य खालको नमुनाका रुपमा आफूलाई चित्रण गर्ने अवसर समेत वालवालिकाले प्राप्त गरिरहेका हुन्छन् । विदेशमा यी सीपहरु प्रदान गर्नका लागि आफ्ना बालबालिकाहरुलाई अनिवार्य रुपमा विशेषगरी अझ आवासीय क्याम्पहरुमा राख्ने गरिन्छ ।
प्रविधिमैत्री यूगका कारण विश्वमा शारीरिक निष्क्रियता र स्क्रिन समय बढ्दो छ । संयुक्त राज्य अमेरीकामा समेत शारीरिक निष्क्रियता र स्क्रिनमा व्यतित गर्ने समय, रोग र असक्षमताको प्रमुख कारण भएको अध्ययनहरुले देखाएको र जसको शुरुवात वाल्यवस्थावाट भएको पाइन्छ ।
क्याम्पहरुले बालबालिकालाई हरेक कार्यहरु समूहगत गतिविधिमा संलग्न भइ प्रभावकारी सञ्चार सीपको वृद्धि, नेतृत्व बिकास, समस्या समाधान सीपको विकास, भावनात्मक विकास जस्ता क्षमताको विकासका लागि मद्दत गर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार आसिन जीवनशैलीले मृत्युका सवै कारणहरु वढाँउछ, ह््दय रोग, मधुमेह, मोटोपनाका जोखिम दोब्वर वन्नुका साथै क्लोन क्यान्सर, उच्च रक्तचाप, ओस्टियोपोरोसिस, लिपिड विकार, डिप्रेसन, चिन्ताको जोखिम वढाँउछ ।
तसर्थ, सक्रिय जीवनशैली सुस्वास्थको लागि आवश्यक छ । वालवालिकामा स्क्रिन समय कम गरी घरवाहिर सक्रिय वनाउनका लागिसमेत यस्ता क्याम्पहरुको उपादेयता राम्रो रहेको पाइन्छ । नयाँ खोज, अभ्यास, सम्वन्ध, सोच र सीप विकासको नयाँ अनुभूति वालवालिकामा विकास गर्नका लागि यस्ता क्याम्पहरुले महत्वपूर्ण योगदान दिएको पाइन्छ । विश्वभर यस्ता क्याम्पहरुको अनुभवहरु अध्ययन गर्दा वालवालिकाका निम्न पक्षहरुमा महत्वपूर्ण फाइदा पुगेको पाइन्छ ।
बालबालिकामा जीवन उपयोगी सीपको विकास ः विद्यालयमा मुख्यतया शैक्षिक उपलब्धिमा केन्द्रित भई सामाजिक सीपहरू सिकेका बालबालिकाहरुले क्याम्पमार्फत सामुहिक, सामुदायीक भावना विकास, व्यक्तिगत भिन्नताहरूलाई प्रशंसा र प्रोत्साहन हुने वातावरणमा प्राप्त गरी जीवनउपयोगी सीपहरु विकास हुन्छ ।
स्वाधीनतालाई बढावा : अभिभावक भन्दा अलग भई स्वतन्त्र समयमा आफ्नो पहिचानको भावना विकास गर्ने, आफ्नो रुचिहरू, सवल र कमजोरीहरू पत्ता लगाई अभिभावक वा शिक्षकमा भर नपरीकन आफ्नो रुची, ईच्छा र योजनामा अनुरुप आत्मनिर्भर भई कार्य गर्नका लागि सिक्दछन् जसले उनीहरुलाई आत्मनिर्भर वयस्क वन्नका लागि आधार प्रदान गर्दछ ।
समूहकार्यको भावना विकास ः क्याम्पहरुले बालबालिकालाई हरेक कार्यहरु समूहगत गतिविधिमा संलग्न भइ प्रभावकारी सञ्चार सीपको वृद्धि, नेतृत्व सीप सिकास, समस्या समाधान सीपको विकास, भावनात्मक विकास जस्ता क्षमताहरुको विकासका लागि मद्दत गर्दछ । फलस्वरूप, बालबालिकाहरू आफ्नो समुदायको सक्रिय सदस्य वनी उत्सुकताका साथ हुर्कन्छन् ।
लचिलोपनको विकास : क्याम्पले बालबालिकाहरुलाई चुनौतिपूर्ण अवस्थाहरुको सामना र सम्पन्न गर्ने अभ्यासमा पोख्त वनाउदै, चुनौतिहरुलाई साथीहरुको सहयोगमा समुहकार्यमा सम्पन्न गर्नका लागि सकारात्मक जिम्मेवारीहरुको खोजी गर्दै, अन्वेषणलाई प्रोत्साहन गर्दै स्वतन्त्र निर्णय गर्ने वानीको विकास गर्न मद्दत गर्दछ ।
प्रकृतिसँगको सम्बन्धलाई प्रोत्साहन : प्रविधिको दु्रत विकासले बालबालिका प्रकृतिसंग परिचित हुने, अनुभूति गर्ने र रमाउने अवसरमा कमी आएको वास्तविकता हामी सवैको अगाडि छर्लङ्गै छ । प्रकृतिसंग परिचित हुँदा उनीहरुमा इन्द्रियको मद्दतको हुने सिकाइहरु, शारीरिक,मानसिक र संवेगात्मक विकासका अवसरहरु, अनुभव र अनुभूतिजन्य सिकाइका अवसरहरु प्रदान गर्दछ । जसले गर्दा बालबालिकाहरु घरभन्दा वाहिर र प्रकृतिमा रमाउने वानीको समेत विकास हुन्छ ।
आत्मसम्मान निर्माण : भविष्य, सम्वन्ध र निर्णयहरु आत्मसम्मानवाट प्रत्यक्ष प्रभावित भएको हुन्छ । यस्ता क्याम्पहरुले बालबालिकाहरुलाई आफ्ना सोच, योजना र निर्णयअनुसार विभिन्न विधा र चुनौतीहरुमा सकारात्मक रुपमा स्वविवेक प्रयोग गरी सम्पन्न गर्नका लागि प्रोत्साहित गर्दछ जसले आत्मसम्मान निर्माण गर्न मद्दत पुर्याएको हुन्छ ।
स्वस्थ जीवनको अभ्यास : शिविरहरुमा बालवालिकालाई स्वस्थ खाना, खाजाका साथै शारीरिक गतिविधिलाई समेत प्रोत्साहित गरिन्छ । शारीरिक गतिविधिहरुले मुटुको स्वास्थ्य, स्वस्थ तौल कायम, आत्मविश्वासमा वृद्धि, तनाव व्यवस्थापन, व्यायामको सीप आदि प्रदान गर्दछन् । यसका अलावा यस्ता शिविरहरुमा तनाव कम गर्नका लागि बालबालिकाहरु जुनसुकै गतिविधीहरु पनि रमाईलोसंग गर्ने, सिक्ने र सामाजिकिकरणको भावना विकास गर्दे स्वस्थ जीवनका अभ्यासहरु अवलम्वन गर्दछन् ।
भिन्नताहरुको सम्मान गर्दै मैत्री सम्वन्ध विकास : बालबालिकाहरुले यस्ता क्याम्पहरुमा आफूजस्तै समान रुचि भएका तथा फरक रुची भएका, विभिन्न पृष्ठभूमि वाट आएका साथीहरुसंग समूहकार्य गर्दै विभिन्न विधाका चुनौतीहरू सामना गर्दछन् । जसले उनीहरुमा सच्चा मित्रताको भावना विकास हुन्छ । विभिन्न गतिविधिहरूमा संलग्न हुँदा बालबालिकाहरुले विभिन्न दृष्टिकोण र विचारहरू समेत आदनप्रदान गर्ने अवसर प्राप्त गर्ने हुँदा फरक दृष्टिकोण वा विश्वासहरूलाई सम्मान गर्न र लक्ष्य हासिल गर्न सिक्दछन् ।
स्क्रीन समयमा कमी : विभिन्न अध्ययनहरुले बालबालिकाहरू मोवाईल, टि.भी, कम्प्युटर वा अन्य डिजिटल डिभाइसहरुमा दिनको साढे सात घन्टाभन्दा बढी स्क्रिनको अगाडि समेत विताउने गरेको तथ्यहरु उल्लेख गरेको पाइन्छ । यसरी मिडिया स्क्रिनमा खर्चिएको समय भनेको वालवालिकाको अध्ययन र सुताइको समयवाट घटेको पाइन्छ । जसको प्रत्यक्ष प्रभाव बालबालिकाको अध्ययनको गुणस्तर, विद्यालयका गतिविधीहरुमा सहभागिताको तह र स्वस्थ जीवनशैलीमा परेको पाइन्छ ।
यस्ता क्याम्पहरुले बालबालिकाहरुलाई स्क्रिनको समयवाट अलग गरी वाह्य वातावरणमा रमाउने तथा अन्य सिर्जनात्मक सिकाइमूलक गतिविधीमा वनाई उनीहरुको दिमागी संलग्नता सकारात्मक सिकाइमूलक गतिविधीमा अभिवृद्धि गर्दछ ।
बौद्धिक कार्यमा संलग्नता–गुणस्तरीय शिक्षाको आधार : विभिन्न विधामा आयोजना गरीने क्याम्पहरु मध्य शैक्षिक गतिविधिमा लक्षित क्याम्पले बालबालिकाहरुलाई शैक्षिक विषयवस्तुहरु फरक तरिकाले विभिन्न गोष्ठि, परियोजना कार्य, सामुहिक गतिविधिमार्फत तयार र प्रस्तुत गर्नका लागि अवसर प्रदान गर्दछ ।
बालबालिकाहरुले रुचिका साथ आफूलाई मनपर्ने गतिविधिहरूमा भाग लिने मौका पाउँछन् । पढाइ, लेखाई लाई फरक ढंगवाट, मनोरञ्जनात्मक तवरले सिकाइमा परिणत हुने अवसर यस्ता क्रियाकलापले गर्दछन् । जसले बालबालिकाको दीर्घकालिन सिकाइका लागि कोशेढुंगाका रुपमा कार्य गर्दछ ।
यसरी बालबालिकाहरु सुरक्षित वातावरणमा रमाइलो अनुभूतिका साथ आफ्नो रुचीअनुसारका खोज, अन्वेषण, सिकाइ स्वतन्त्रताका साथ गरी दीर्घकालिन सिकाइका लागि आधार तयार गर्नका लागि यस्ता क्याम्पहरुले महत्वपूर्ण भूमिका खेल्दछन् ।
क्याम्पका यीनै महत्वहरुलाई आत्मसाथ गर्दै सामुदायीक विद्यालयको गुणस्तर सुधारमा अनवतरत लागिरहेको काठमाडौं महानगरपालिकाले दशैं तिहारको विचको विदाको समय उपयोग गरेर शैक्षिक क्याम्प सञ्चालन गरेको थियो । ११ वटा श्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा वढि विद्यार्थी भएका पाँच ठूला विद्यालयमा क्याम्प राखिएको थियो ।
‘गरी खाने शिक्षा, महानगरको ईच्छ’अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न विदाको समयमा क्याम्प सञ्चालन भएको हो । विद्यार्थीलाई रचनात्मकता र सहकार्यको अभ्यासमा उत्प्रेरीत गर्दै यस क्याम्पले विद्यार्थीहरुलाई फाईदा पुगेको सहभागी विद्यार्थीहरु र आयोजक विद्यालय संगको छलफलमा प्रस्तुत गरिएका अनुभवहरुले दर्शाएको पाइएको छ ।
गणित, विज्ञान र सामाजिक विषयभित्र कक्षा १० मा रहेका प्रयोगात्मक अभ्यासहरुमा आधारीत विषयवस्तुहरुमा सिकाइका विभिन्न रचनात्मक विधिमार्फत विद्यार्थीहरुको सहभागीता र प्रस्तुतीलाई जोड दिइ सिकाइका गतिविधिहरु सञ्चालन भएका थिए ।
राष्ट्रिय तहका वरिष्ट गितकार, संगीतकार, क्रिकेट खेलाडी, वास्केटवल खेलाडी, अभिनेता, लगायत विभिन्न विधाका व्यक्तित्वहरुलाई उपस्थित गराई विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफलमार्फत सिकाइ र उत्प्रेरणा जगाउने कार्य समेत गरिएको थियो ।
यसरी समग्रमा हेर्दा ज्ञान, सीप, धारणा र मूल्य मान्यतामा सकारात्मक परिवर्तनका लागि यो अभ्यास निकै महत्वपूर्ण रहेको सैदान्तिक तथ्यहरुलाई काठमाडौं महानगरको यो अभ्यासले तथ्यगत पुष्टि गर्न सफल भएको छ । विदाको समय, अध्ययनमा भन्दा प्रविधिका सामग्रीसंग समय धेरै व्यतित गर्ने विद्यार्थीहरु, फेस्टिभल क्याम्पमा रचनात्मक तवरले सक्रिय सहभागी भई गरेको सिकाइले दीर्घकालिन प्रभाव पारी एसईईको तयारीका लागि वाँकि समय राम्रो संग अध्ययन र सिकाइका क्रियाकलापमा जोड दिने वानी वसाई गुणस्तरीय नतिजा अभिवृद्धिमा कोशेढुङ्गा सावित हुने आसा छ । विभिन्न विदाका समयहरुमा यस्ता अभ्यासहरुले निरन्तरता पाउन् । शुभकामना
(लेखक ज्ञानोदय मा.वि. वाफल, काठमाडांैका सहायक प्रध्यानाध्यापक हुन्)