विराटनगर । कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले आफूलाई नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीसँग आग्रह गरेका छन् । एमालेको प्रतिनिधि परिषद् सदस्य अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडासमक्ष निवेदन लेख्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न भनेका हुन् ।
हालै जापान भ्रमणका क्रममा लागेको आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यसबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरिदिन उनले निवेदनमा उल्लेख गरेका छन् ।
उनले निवेदनमा भनेका छन्, ‘आफूले आन्तरिक मामिला तथा कानुनमन्त्रीको पदबाट राजीनामा बुझाइसकेको पार्टी परिवारलाई अवगत नै छ । म माथि उठेका सार्वजनिक टिकाटिप्पणी र आरोपको सत्यतथ्य छानबिनमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ ।’
संसदीय जिम्मेवारीको बारेमा भने उनले केही उल्लेख गरेका छैनन् । आफू निर्वाचित सदस्य भएकोले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले आफू प्रदेशसभा सदस्यको जिम्मेवारीमा भने रहने उनले बताएका छन् ।
‘मैले पार्टीभित्रबाट मलाई अनुसन्धान गर्नको लागि कुनै हस्तक्षेप नहोस् र निष्पक्ष छानबिन होस् भनेर पार्टीलाई प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारीबाट हटाउन निवेदन दिएको हुँ । संसदीय जिम्मेवारीको बारेमा मैले केही उल्लेख गरेको छैन’ उनले भनेका छन् । यसअघि नै उनले जापान जाने क्रममा विभिन्न टिकाटिप्पणी र आरोप लागेको भन्दै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।