काठमाडौं । नेकपा एमालेका नेता आनन्द पोखरेलले प्रधानमन्त्रीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा सरकार नै टिक्दैन भन्ने चर्चा गलत भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई भारतले भ्रमणमा नबोलाएका कारण सरकार टिक्दैन भन्ने चर्चा पानीका फोका जस्तै भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाउनुलाई नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ भनेर बुझ्नुपर्ने उनले बताए । पोखरेलले सरकारले आफ्नो अवधि पूरा गर्ने भन्दै तत्काल सरकार तलमाथि नहुने दावी गरे ।
त्यस्तै उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा नेपाल सरकारले व्यापक तयारी गरेर भ्रमणबाट अधिकतम लाभ लिन सक्नु पर्ने जिकिर गरे ।
चीनसँगको परम्परागत कूटनीतिक सम्बन्धलाई पुनरावलोकन गर्नुपर्ने, चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउँदा भएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्ने एजेण्डा सरकारले बनाउनुपर्ने उनले बताए । त्यस्तै पोखरेलले बीआरआईको फ्रेमवर्क सम्झौता कार्यान्वयनमा समेत सरकारले चीनसमक्ष कुरा राख्नुपर्ने सुझाव दिए ।
फरक प्रसङ्गमा उनले मानव तस्करीमा मुछिएका पार्टीका नेता लिलाबल्लभ अधिकारीलाई पार्टीको सबैखाले जिम्मेवारीबाट मुक्त गरिएको र अनुसन्धानमा एमालेले पूर्ण रुपमा राज्यका निकायहरूलाई सघाउने स्पष्ट पारे ।