काठमाडौं । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन् ।
नेता कोइरालाले केपी शर्मा ओली नेतृत्व सरकार संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्ने गरी काङ्ग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए । संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए । कोइरालाले सात बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए ।
त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदन भण्डारी राजमार्गको बीचमा निर्माण गरिएको सालिकको अनावरण गर्दै नेता कोइरालाले विपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए ।