Logo
Logo

अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै कर्मचारीले घेरे मन्त्रालय


3k
Shares

काठमाडौं । निजामती सेवाअन्तर्गतका विविध सेवा समूहका सयौँ प्राविधिक कर्मचारीहरूलाई सामान्य प्रशासन सेवा अन्तर्गतका सामान्य प्रशासन, राजश्व र लेखा समूहमा विनाप्रतिस्पर्धा स्वतः बढुवा समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रशासन सेवा कर्मचारीहरू आन्दोलित बनेका छन् ।

उनीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमा भेला भएर शान्तिपूर्णरुपमा असहमति जनाएका छन् । सर्वोच्चको उक्त आदेशको कार्यान्वयन प्रशासन सेवा र समग्र निजामती सेवाको कार्यक्षमता र गरिमामाथि गम्भीर चुनौती बन्न सक्ने उनीहरूको भनाइ छ ।

अदालतको आदेशको पूर्ण पाठ सार्वजनिक भइनसकेको भएपनि बिना प्रतिस्पर्धा विविध सेवाका कमर्चारीहरूलाई प्रशासन सेवामा बढुवा समायोजन गर्ने कुरा व्यवहारिक नभएको उनीहरूको दाबी छ । उनीहरूले सर्वोच्चको आदेश कार्यान्वयन भए प्रशासन सेवाको विशिष्टीकरण, कार्यक्षमता र गरिमा गम्भीर रूपमा प्रभावित हुने दाबी गरेका छन् ।

उनीहरूले अनुचित र निजामती सेवा ऐन र नियमावलीको सेवा, समूह परिवर्तन सम्बन्धी प्रावधानको बर्खिलाप हुनेगरी अदालतबाट भएको अन्यायपूर्ण आदेश कार्यान्वयनलाई तत्काल अगाडि नबढाउन र नेपालको निजामती प्रशासन सेवाको गरिमा र कार्यक्षमताको रक्षा गर्दै, सेवा समूहहरूको विशिष्टीकरणको मर्म र कानूनी व्यवस्थाको आधारमा प्रतिस्पर्धात्मक र न्यायोचित वृत्तिविकास कायम गर्न सरकारसँग मागगरेका छन् ।

प्रतिक्रिया दिनुहोस्