बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ ।
रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।
रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु भएको बताए । लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ ।