Logo
Logo

नेकपा एसका केन्द्रीय सदस्य जंगबहादुर शाही एमालेमै फर्किए


693
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेखका पूर्व जिल्ला अध्यक्ष जंगबहादुर शाही नेकपा एमालेमा फर्किएका छन् ।

मंगलबार दैलेखमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले शाहीलाई मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।

शाहीसहित सो पार्टीका अन्य नेताहरु पनि एमालेमै फर्किएका छन् । शाही ०७४ मा एमालेबाट महावु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर एमालेबाट चोइटिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी खोलेपछि शाही नेपालतिर लागेका थिए ।

यतिबेला नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी छ । उक्त अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल कर्णाली पुगेकै समयमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही एमालेमा फर्किएका हुन् ।

दैलेखको महाबु गाउँपालिका निवासी शाही नेकपा एमाले जिल्ला कमिटी दैलेखको २०७६ सालमा जिल्ला सचिव समेत थिए । एमाले स्रोतका अनुसार उनलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षको उम्मेदवार बनाउन लागिएको छ ।

यसअघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरेको थियो । महाबुको भने टुंग्याउन बाँकी थियो । सो ठाउँमा उनै शाहीलाई उम्मेदवार बनाउने तयारी एमालेले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्