काठमाडौँ । नेकपा माओवादी केन्द्रले सप्तरी जिल्ला लगायत कतिपय स्थानहरूमा पार्टीको आधिकारिक कमिटीको निर्णय विपरीत समानान्तर ढङ्गले कमिटीहरू गठन गरेको रिपोर्ट प्राप्त भएको भन्दै त्यस प्रकारका सम्पूर्ण कमिटीहरूलाई अवैध घोषित गरेको छ ।
माओवादीले सबै नेता कार्यकर्तालाई आधिकारिक कमिटीहरूको मातहतमा रही पार्टी काममा लाग्न निर्देशन समेत दिएको छ । माओवादीले विधानतः कार्य अवधि पुगेका स्थानीय पालिकाहरूको सम्मेलन मङ्सिर महिनाभित्र सम्पन्न गरिसक्न निर्देशन समेत दिएको छ ।
त्यस्तै माओवादीले स्थानीय पालिकाको सम्मेलन भइसकेको र तत्काल सम्मेलन हुन नसक्ने स्थिति रहेका पालिकाहरूमा व्यापक जनपरिचालन तथा जनसहभागिता गरी खबरदारी सभाहरूको आयोजना गर्न निर्देशन दिएको छ ।