काठमाडौं । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रुपन्देही ल्याइएका लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालयमा बयान लिइँदैछ ।
यसअघि मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो । तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनका अनुसार आज कार्यालय समय सुरु भएसँगै बयान लिने काम सुरु हुनेछ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पटकपटक म्याद थप गराउँदै कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा उनलाई मंगलबार रुपन्देही लगिएको हो । सभापति पक्राउ परेपछि रास्वपाले पहिलो दिनदेखि नै सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।