Logo
Logo
सहकारी ठगी प्रकरण

भैरहवामा बयान सकिएपछि रविलाई काठमाडौं ल्याइने

लामिछानेविरुद्ध रूपन्देहीमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी


1.2k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । लामिछानेकाे मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान लिइएको छ । लामिछानेसँग मंगलबार करिब पाँच घण्टा बयान लिइएको थियो । लामिछानेकाे आज लिखित बयान लिने तयारी गरिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । बुटवल उपमहानगरपालिका–९ स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ ।

दुई करोड ऋणमध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो । एक करोड रुपैयाँ छुट्टै ऋण भने लामिछाने र रोशनी गुरुङका नामबाट ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको थियो । ऋण लगिएका बेला लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए । यही विषयमा लामिछानेमाथि अनुसन्धान गर्न रुपन्देही लगिएको हो ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा दिउँसो १ बजेबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए । तर, अधिकांश प्रश्नको जवाफमा लामिछानेले आफ्नो अनभिज्ञता प्रकट गरेका थिए । उनले सुप्रिमबाट गोर्खा मिडियामा रकम जम्मा भएको विषय आफूलाई जानकारी नभएको र रकम जम्मा गर्ने व्यक्ति आफूले नचिनेको उनको जवाफ थियो ।

बयानका क्रममा लामिछानेले गोर्खा मिडियाका पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेका नाममा सुप्रिमबाट ऋण प्रवाह भएको विषयमा पनि बचाउ गरेका थिए । जोशीका नाममा सुप्रिमबाट २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको अनुसन्धानमा देखिएको छ । जोशीले २०७७ माघ २९ मा उक्त ऋण लिँदा संस्थाले ५ लाख रुपैयाँ सेवा शुल्क कटाएको थियो । लामिछाने र जोशीका नाममा सहकारीबाट लिएको ऋण ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पौडेलका अनुसार बयान बुधबार १० बजे देखि सुरु हुने छ । बयान नसकिएसम्म निरन्तर चल्ने उनले बताए । मंगलबारको बयान नसकिएपछि लामिछानेलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।

कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई भने बयान गराएर मंगलबार नै काठमाडौं ल्याइएको छ । लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ ।

रूपन्देहीमा सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहे पनि थप विषय खुलेको अवस्थामा अन्य मुद्दा पनि आकर्षित हुन सक्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।

एकै प्रकृतिको कसुर भएपनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए ।

प्रहरीले गत वैशाखमा रूपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । संस्थाका पूर्वअध्यक्ष जीबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा लामिछानेलाई नसमेटिएको भन्दै सहकारीपीडितले प्रश्न उठाउँदै आएका थिए । अहिले भने लामिछानेविरुद्ध पूरक प्रतिवेदन लैजाने गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष जोशी, सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जीबी) राई, पूर्वसचिव दीपेश पुन, कुमार रम्तेलसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये राईलगायत अधिकांश फरार छन्  । लामिछानेका नाममा रकम जम्मा गर्ने सुप्रिमकी कर्मचारी रोशनी गुरुङसहित ६ जना जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्