काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्न अटेर गर्दा सर्वसाधारणको पनि बक्यौता बढ्न थालेको बताए ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले सर्वसाधारणले पनि महसुल तिर्न आनाकानी गर्न थालेकाले प्राधिकरणको मासिक कलेक्सन घट्न थालेको बताएका हुन् ।
उनले भने, ‘उद्योगीले अटेर गर्ने अनि लाइन जोड्न विभिन्न निर्णयहरू भइरहेको छ । त्यसको कारणले प्रत्येक महिना उठ्नुपर्ने अरू महसुल पनि कम उठ्न थाल्यो । सर्वसाधारणले पनि पहिला ठूला उद्योगीको बक्यौता उठाउनुस् अनि हामीकहाँ आउनुस् भन्न थाले ।’
वर्षमा बक्यौता नर्तिने करिब दुई लाखको लाइन काटिने जानकारी गराउँदै लाइन काट्न जाँदा प्राधिकरणको कर्मचारीलाई सर्वसाधारणले पिट्न थालेको निर्देशक घिसिङले बताए ।
‘वर्षमा करिब दुई लाख लाइन काट्छौँ । त्यो अवस्था सिर्जना भएको छ । र सबै ठाउँमा हाम्रो संकलन घट्दै गएको छ । हाम्रो ९५ प्रतिशतभन्दा माथि संकलन हुने अवस्थाबाट ८०–८५ प्रतिशत मात्रै संकलन हुने अवस्थामा छ ’ उनले भने, ‘विद्युत् प्राधिकरणको विभिन्न ठाउँमा हाम्रा कर्मचारीहरूलाई लाइन काट्न जाँदा पिटको अवस्थाले गर्दा बक्यौताको अवस्था हाम्रो खस्किँदै जाँदा प्राधिकरण वित्तिय अवस्था नाजुक अवस्थामा पुग्ने सम्भावना देखिन्छ ।’
बक्यौता नउठ्दा क्यास फ्लोमा समस्या हुँदै गएको पनि घिसिङले बताए । उनले भने, ‘महिनामा १०–११ अर्ब उठ्नुपर्ने रकम घट्दै गएर ८ अर्ब मात्रै उठ्न थाल्यो। बक्यौता त रहन्छ तर क्यास फ्लोमा समस्या हुन्छ ।’
घिसिङले बक्यौताको विषयलाई विवादित र राजनीतीकरण गर्ने काम भएको आरोप पनि लगाए । ‘बक्यौतालाई झन् विवादित बनाउने र राजनीतीकरण गर्ने काम भएको छ। जुन बेला लाइन काटिन्छ त्यसअघि जति पनि प्रडक्ट उत्पादन गरेको हुन्छ, पूर्ण क्षमतामा चलेको हुँदैन,’ घिसिङले भने, ‘जहिलेसम्म त्यो बिक्री हुँदैन उहाँहरू लाइन जोड्न यहाँ आउनुहुन्न । अनि बेरोजगारी बढायो, आर्थिक अवस्था तहसनहस भयो भनेर इमोसनल ब्ल्याकमेलिंग गर्नुहुन्छ। यो राम्रो कुरा होइन ।’
बक्यौता असुलीमा ठूलो राजस्व उठाएर नाफा कमाउने जस्ता आरोप पनि लगाएको भन्दै उनले अघि भने, ‘उहाँहरूले आफ्ना प्रडक्टमा १७ घण्टा लोडसेडिङमा सर्वसाधारणले भन्दा बढी बिजुली प्रयोग गरेर फाइदा लिनुभएको छ। अहिले तिर्दिन भन्नु त्यति न्यायिक नहोला।’
उनले आफू कुनै पनि हालतम विचलित नहुने भन्दै डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापत उद्योगीले तिर्नुपर्ने बक्यौता महसुल उठाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।