काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
यूएईको दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८३ रन जोड्यो ।
यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।
आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । नेपालले १६. २ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पराजित हुँदै दोस्रोमै सीमित रहँदै विश्वकप खेल्नबाट वञ्चित हुने छ ।
हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुने छ ।