काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
दायर रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ ।
निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ ।
उक्त रिट निवेदन सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।