नेपालको राजनीतिमा मात्रै होइन, विश्वकै राजनीतिमा ‘कहीँ नभएको जात्रा हाँडिगाउँ’ मा भनेझैँ भइरहेको हुन्छ । उसो त राजनीति सबै नीतिहरूको पनि मूल नीति भएका कारण पनि यस विधामा तमाम दृश्यहरू देख्न पाइने सुविधा हुन्छ होला ।
राजनीति शक्ति प्राप्तिको संघर्ष हो । यस संघर्षको मैदानमा अनेकौँ मानिसहरूको सहभागिता हुन्छ । विभिन्न स्वार्थ बोकेर पनि राजनीतिमा आउन सक्छन् । नेतृत्वलाई प्रभावमा पारेर आफ्नो स्वार्थ पुरा गर्नेहरू पनि राजनीतिमा आउन सक्छन् ।
तथापि मूल राजनीतिक पार्टी र नेतृत्वले मुलुकको विकास र समृद्धिका बारेमा, असल र सुसंस्कृत राजनीतिका बारेमा, शान्ति र स्थायित्वका बारेमा वस्तुनिष्ठ विश्लेषण गर्नुपर्छ । किन भने राजनीतिको बजारमा अनेकौँ दृश्यहरू देखिन सक्छन् । तर, आवश्यक र असल चित्र कुन हो ? त्यो पत्ता लगाउन पर्छ ।
पछिल्लो समय नेपाली राजनीतिमा ‘नयाँ र पुराना’ भन्ने भाष्य चलिरहेको छ । राजनीतिमा नयाँ र पुराना भन्ने त हुँदैन । तर, नेपाली राजनीतिमा अनेक भाष्य विक्री हुन्छन् । नेपाली राजनीतिको बजारमा जेसुकै कुरा विक्री हुने हुँदा अहिले नयाँ र पुराना भन्ने भाष्य बिक्री भइरहेको छ ।
जस्तो सुकै चिज पचाउन सक्छ । अर्कातर्फ को नयाँ ? को पुराना ? को सत्तामा, को सडकमा ? यहाँ भद्रगोल छ । सत्तामा भएकाहरूले पनि सडक प्रदर्शन गरिरहेका हुन्छन् । सडकमा देखिनेहरू पनि सत्ताभन्दा धेरै पर बस्नै सक्दैनन् ।
नैतिकता सिकाउनेहरू नै अनैतिक
खासगरी राजनीतिमा अरूलाई नैतिक राजनीतिको पाठ सिकाउने धेरै भेटिन्छन् । माथि भनेकै कुरालाई मान्ने हो भने पनि पुराना नेताहरू (माधव, प्रचण्ड, देउवा, ओलीहरू) ले यसअघि पटकपटक नैतिक राजनीतिको गफ नहानेका होइनन् । उनीहरूले क्रान्तिका कुरा गरे । आन्दोलनका कुरा गरे । क्रान्ति र आन्दोलन पनि गरे । क्रान्ति र आन्दोलनका क्रममा अनेकौँ सपनाहरू बाँडे । तर, कालान्तरमा आएर आफ्नो पुस्ताको मात्र नभएर दोस्रो र तेस्रो पुस्ताकोसमेत राजनीति आफै गर्न तम्सिए । उनीहरूले मुखले एउटा भन्ने र व्यवहारमा अर्को गर्न थाले । जे भन्छन्, त्यो नगर्ने, जे भन्दैनन् त्यही गर्ने काममा ती नेताहरू देखिए । यस्तो राजनीतिक प्रवृत्तिले देश बन्दैन र बनाउँदैनन् भन्दै केही नयाँ भनिएकाहरू सतहमा देखिए ।
पुराना नेता र पार्टीलाई नो नट अगेन, चोर, फटाहा, भ्रष्टाचारी उफ ! कति हो कति । अरूलाई यस्ता अनैतिक आरोप र गालीको वर्षा दिएर देश बनाउन तम्सेका रविहरू, हर्क र बालेनहरूका वर्तमान अभिव्यक्तिहरू सुन्दा तिनीहरूको नैतिकताको उचाइ कति छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
रविहरू नेपाल सरकार मुर्दावाद, जुठो पर्यो भन्दैछन् । सिके र रेशमहरू पारिवारिक कलहको तलाउमा पौडी खेल्दैछन् । हर्क अराजक शैलीमा हैट…भन्दैछन् । यता काठमाडौँका बोलन भुसतिर्गेहरू बोकेर सिंहदरबार जलाउने नारा लगाउदैछन् ।
यिनीहरू अराजक पपुलिष्टहरू हुन् । जसले हिजोका दिनमा पुराना राजनीतिक दल र नेताहरू खराब भए भन्दै आफूहरू नैतिक राजनीतिको शिक्षा सिकाउछौं भनेर उद्घोष गरेका थिए, तीनै व्यक्तिहरू आज पुरानाभन्दा पतित र गन्हाउने देखिए । यो मुलुकका निम्ति निक्कै दुःखद कुरा हो ।
स्मरण होला, कुनै बेला राष्ट्रिय टेलिभिजनमार्फत टुँडिखेलमा घुमाएर नाकको डाँडी भाँच्ने अभिव्यक्ति दिने रवि लामिछाने आज राजनीतिमा छन् । उनको पार्टी जीवनकै संटकमा आइपुगेको देखिन्छ । लामिछाने पक्राउपछि रनभुल बनेको रास्वपा यतिबेला फेस सेभिङको पर्खाइमा देखिन्छ ।
सभापतिले रास्वपालाई हिरासतमा लिएपछि त्यो पार्टीको असली नैतिकता थप छर्लङ्ग भएको छ । कम्युनिष्ट-कांगग्रेसले बनाउन नसकेको देश हामी बनाउछौँ भन्दै उदाएका दलहरू न विचारमा स्पष्ट देखिए, न आन्दोलनका बारेमा । उनीहरू कुहिरोमा हराएको कागझैँ कराउदै हिड्रिहेको छन् । स्वयं आफै कुहिरोको काग बनेकाहरूले देश बनाउँछौँ भन्दा कसले पत्याइदिने ?
अर्थात् हर्कहरूका अभिव्यक्तिहरू, सिंहदरबार जलाई दिने बालेनका अभिव्यक्ति र तोसिमाहरूका नेपाल सरकार मुर्दावादका नाराले उनीहरूको नैतिक राजनीति र राजनीतिक परिपक्वता कत्तिको छ, भनेर बुझ्न गाह्रो छैन । अराजक पुपुलिष्टरूको संख्याले बाहेक रवि, बालेनहरूबाट धेरै अपेक्षा गरेको छैन ।
नयाँभन्दा पुराना ठिक
राजनीति आन्दोलन निक्कै कठिन कुरा हो । त्यसैमा हाम्रो जस्तो भूअवस्थिति र सामरिक खतरा रहेको मुलुकका निम्ति झन् कठिन कुरा हो । कम्युनिष्ट-कांग्रेस पार्टी र तीनका नेताहरू सङ्ख्यात्मक रूपमा बढी छन् । देश बिगार्ने पनि उनीहरू नै हुन् ।
देश बनाउने पनि उनीहरू नै हुन् । देश कहाँनेर पुगेर गलत बाटो लियो भन्ने कुरा पनि उनीहरूलाई नै ज्यादा जानकारी छ । अनैतिक कुरामा देखिएका पनि यिनै पार्टीका मान्छेहरू बढी छन् । यसमा कुनै दुइमत छैन ।
तर, यति भन्दाभन्दै पनि कानुनी राज्यका निम्ति कम्युनिष्ट-कांग्रेस अहिलेको रास्वपाभन्दा इमान्दार देखिन्छन् । कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री, एमालेका नेता तथा मन्त्रीहरू विवादमा मुछिदा बित्तिकै पार्टीबाट निष्कासित गर्ने र कानुनी कारबाहीमा सघाउने प्रतिबद्धता यिनीहरूले गरेको देखियो ।
तर, रास्वपा भन्ने पार्टी सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्तिशुद्धिकरणको अभियोगमा पक्राउ परेका सभापति रविलामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो भन्दै आन्दोलन गर्न तम्स्यो । जुन कुरा अनैतिक, अराजनीतिक र अलोकतान्त्रिक छ । सुरूमै उसले अनुसन्धानमा सघाउँछौँ भनेको भए सायद यति धेरै आलोचना र प्रश्न गर्ने आधार पाइँदैन थियो ।
खैर, यो देश जुन स्थानमा आइपुगेको छ, यसको मूल कारण नै कांग्रेस र कम्युनिष्ट हुन् । यहाँभन्दा अगाडि पनि उनीहरूले नै तय गर्ने विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जाने हो ।
त्यसैले विगतबाट सिक्ने, वर्तमानबाट सिक्ने र भविष्यमा राम्रो गर्छौँ भन्ने, आत्मसमिक्षा गर्ने, मुलुकले भोग्नुपरेका हरेक दुःखबाट पार लगाउने प्रतिबद्धता कांग्रेस-कम्युनिष्टहरूले नै गर्नुपर्छ । भदौरे भेलबाढीले केही समय त प्रभाव पार्ला । तर, यहाँ राजनीतिको नदी बग्नुपर्नेछ, बर्खाको भेल बाढी होइन ।
कसरी बन्छ देश ?
राजनीतिको मुहान भनेको नै जनता हो । मुहान संग्लो हुन जरुरी भइसक्यो । मुहान धुमिल छ भने खोला संग्लो बग्दैन । त्यसैले जनताले मुलुकमा घुस नखाने, सहकारी नलुट्ने, स्टन्टबाज नगर्ने, लोकप्रियतावादेखि टाढा रहने, वैचारिक र सैद्धान्तिक कोर्णबाट स्पष्ट पार्टीलाई रोज्नुपर्छ । चुनावमा नोट खाएर भोटदिने जनताहरूको देश कस्तो हुन्छ ? नोटसँग भोट बिक्री गर्ने जनताहरूले कसतो देश बनाउछन् ? जवाफ सजिलो छ, नेपाल जस्तै ।
बजारमा जसले जे भन्छ, त्यसैको पछि जनताहरू दौडिनु भएन । आज सहकारीको रकम दुरुपयोगको अभियोगमा पक्राउ परेका रवि लामिछाने रिहाको लागि केही मान्छेहरू सडकमा आएका छन्, के साँच्चै उनीहरूले रविहरूको राजनीति बुझेका छन् ? रविहरूको विचार र सिद्धान्तबारे जानकारी छ ? सायद छैन । अरूले केही गर्दै छ भने आफूले पनि त्यही गर्नुपर्छ । जस्तोः काठमाडौँको बागबजारमा पहिलेपहिले तमाम होटेलहरू थिए ।
अहिले बागबजारमा होस्टेलहरूको राज छ । पहिलेका होटेलहरू होस्टेलमा परिणत भएका छन् । अतः निलो क्रान्तिको पछि नबुझेर लाग्ने ? असल, कर्तव्यवान् र बुझेको चेतनशील मान्छेले आँखा चिम्लेर सडकमा जान मिल्छ ? मिल्दैन ।
अन्त्यमा, नारामा जान्ने भनेर कोही जान्ने हुँदैन । पारामा पनि जान्ने हुनुपर्छ । हल्ला गर्नेहरूबाट जनता सचेत बन्नुपर्छ । जनता नै लोकतन्त्रका निर्माता हुन् । लोकतन्त्र नै जनताको शासन व्यवस्था हो । यही लोकतन्त्रलाई बलियो बनाउने कि कमजोर ? त्यो पनि त जनताकै जिम्मेवारी होइन र ?