नियमित गति क्रम र एउटै गन्तव्यमा
प्रकृतिको चक्र घुमिरहँदा पनि
ममतामयी मेरी उनीलाई
बादल लागेपछिको सफा आकाश
कहिल्यै देखा परेन
झरी परेपछिको रापिलो घाम
कहिल्यै लागेन
दुख र सुखको चक्रमा घुमेर
अनुभूति गर्ने अवसरै आएन
रीस पछि पलाउने
न्यानो मायाँजालमा बेरिएर
ओठभरिको लामो श्वास फेर्ने
दिव्य स्वपना पूरा हुन पाएन
एउटा बिकराल रात आएपछि
उज्यालो दिन कहिल्यै आएन
उनको सृष्टि कलिलो मूना
अलिकति पनि फक्रन नपाउँदै
मानवरूपी दानवले बोटै ढालेर
खै कसरी छिया– छिया बनायो !
रहरले होस् या करले
प्रेमको घरमा प्रवेश गरेपछि
पवित्र प्रेमको बाली
लह– लह लहराउँदै गर्दा
निस्वार्थ सेवाका भावहरू
मुजुरा भएर अङ्कुराउँदै रहँदा
हराभरा देखिएको उर्वर भूमिमा
भित्र भित्रै विषको वृक्ष हुर्काएर
सम्बन्धलाई विषमय तुल्याएपछि
दुई आत्मा बीचमा कायम हुने
न्यानो सामिप्यतालाई
चीसो सिरेटोले हानेर
बरफ झैं कक्रक्क बनाएपछि
इमान्दारिता र पवित्रताको
त्यो सुन्दर महलमा फेरि
भुसको आगोझैँ भित्र–भित्रै
शंकाको आगो कसरी सल्कायो ?
प्रकृतिको अनुपम उपहार
मुस्काइरहने ती ओठहरू
छोटो समयमा विश्व नियाल्ने
चञ्चल ती नयनहरू
हिमालझैं अटल सान
सौभाग्यले रंगिएको
चम्किरहने त्यो सुन्दर मूहार ।
सक्षमताको बाली मौलाएको
हराभरा फाँट जस्तै विशाल छाती
अदम्य साहस विस्वास र आँट
उसको लागि निकै अभिसाप भयो
साँच्चै उसको लागि महाश्राप भयो !
चार जात छत्तिस वर्णको
सुन्दर बगैंचामा मगमगाएको
सानदार पुष्पलाई
विषालु हृदयमा किन सजायो ?
आफ्नै स्वर्गमा मुस्कुराउँदै बसेकी
स्वर्गीय आनन्दकी मेरी परीलाई
क्रुर नंग्रा गाडेर किन उठायो ?
मान्छेको मासु खाने दानवरूपी दाह्रा
ङिच्याएर प्रेममा किन फसायो ?
नाटकीय पात्र बनाउन
मेरो रचना किन गरायो ?
मेरो आहारको भण्डार
किन मरूभूमि बनायो ?
मेरो मायाँ ममता स्नेहको
प्रतिमूर्ति कसरी गायब बनायो ?
भनिदेउ न विधाता !
प्रेमको नाटक किन देखायो ?
खै त ममता कहाँ छ आज ?
मैले खेल्ने काख कहाँ छ आज ?
आँखामा आाँखा जुधाउँदै
दुवै हातले गिजोल्दै
मैले चुस्ने स्तन कहाँ छ आज ?
मलाई नचाउँने ती मायाँलु हातहरूले
धेरै भयो खेलाउन छाडेको
दिल खोलेर मलाई बोलाउने सुरिलो स्वर
आजकल धेरै भयो सुनिन छाडेको
स्वर्ग जस्तै प्यारो लाग्ने मेरो सुन्दर घर
मसानघाट जस्तै सुनसान बनायो !
सुशीला शर्मा
भिमेश्वर नगरपालिका, दोलखा
हाल काठमाडौ ।