काठमाडौं । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनतासँग माफी माग्न भनेको छ । दक्षिण भारतीय अखबार ‘दि हिन्दू’मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले जनतासँग माफी माग्न भनेको हो ।
एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले एक विज्ञप्ति जारी गर्दै ‘द हिन्दू’मा गत बिहीबार प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको बताएका छन् ।
उनले प्रचण्डका टिप्पणी तथ्यविहीनमात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाउने खालका रहेको भनेका छन् । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर व्याख्या गर्नु आधारहीन, गैरजिम्मेवार र नेपालको राष्ट्रिय हित तथा परराष्ट्र नीतिको मर्मविपरीत छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस प्रकारका टिप्पणीहरूले कूटनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गर्नुका साथै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गरिमालाई अपमानित गर्ने विज्ञप्तिमा उल्लेख छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति भएको उल्लेख गर्दै यसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक भएको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दाहालका यस्ता टिप्पणीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण साझेदार मित्रराष्ट्र भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्धमा खलल पुर्याउने जोखिम निम्त्याउँछन् । यस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेपालले दुवै राष्ट्रसँग निर्माण गरेको सुदृढ, सन्तुलित र सम्मानजनक सम्बन्धलाई कमजोर पार्दछन् ।’