काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारी सबैलाई बैठकमा उपस्थित हुन भनिएको छ । ढुंगानाको निधनको खबर पाएपछि पार्टी सभापति शेरबहादुर देउवा गृह जिल्लाबाट काठमाडौं फर्किसकेका छन् ।
कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई बिहान ११ बबजे सानोगौचरणमा राखिने भएको छ । त्यसपछि उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्ममानका साथ अन्त्येष्टि गरिँदै छ ।