Logo
Logo

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखियो


441
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाकोे अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ ।

प्रतिक्रिया दिनुहोस्