काठमाडौं । नेपाली कांग्रेसल दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
कांग्रेसले भोलि केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने समेत निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख भएका थिए ।
त्यसैगरी उनी वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनको सक्रिय भूमिका रहेको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगानाले पु¥याएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ ।