काठमाडौं । गत फागुनमा नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भनेर सबैभन्दा बढी बहस भयो ।
महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा ‘कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने, एक्लै लड्ने’ प्रस्ताव राखेका थिए । थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेनन् । उनी महामन्त्रीको प्रतिवेदनबाट ‘चुनावी गठबन्धन नगर्ने’ विषय हटाउने लागिपरे । यही विषयमा कुरा नमिल्दा महासमिति बैठक केही दिन स्थगित समेत भएको थियो ।
महासमिति बैठक अघि केन्द्रीय समितिको बैठकले गगनको प्रतिवेदन अनुमोदन गरेको थियो । तर, महासमिति बैठकमा सभापति देउवा आवश्यकता अनुसार चुनावी गठबन्धन पर्नुपर्ने पक्षमा उभिए । यो विषयले कांग्रेस दुई धारमा बाँडियो । चुनावी गठबन्धनको विवादले तत्कालीन सत्ता गठबन्धनमा खटपट नै भयो ।
धेरै नेताहरू सभापति देउवाको पक्षमा उभिए । तर, गगन आफ्नो अडानबाट टसमस भएनन् । गगन आफ्नो अडानबाट पछि नहटेपछि ‘चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने’ प्रस्ताव महासमितिबाट पारित भयो ।
माओवादी केन्द्रसहितको चुनावी गठबन्धनबाट प्राप्त नतिजा र त्यसपछि बनेको सरकारको बेला नै कांग्रेसले लामो रस्साकस्सीपछि चुनावी गठबन्धन नगर्ने निर्णय ग¥यो । थापाले २०८१ भदौ १७ गते केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनको भाषामा थोरै परिमार्जनसहित चुनावी गठबन्धन नगर्ने निर्णय गरियो ।
तर, निर्वाचनमा गठबन्धन नगर्ने नीति अख्तियार गरेको कांग्रेस स्थानीय तहको उपनिर्वाचनसम्म पुग्दा महामन्त्री थापाको रणनीतिले फेल खाएको छ । चुनावी गठबन्धनले लोकतन्त्रको रक्षा हुन नसक्ने, पार्टीको जनमत पनि नजोगिने र मतदाताले आफ्नो निर्वाचन चिन्हमा मतदान गर्न नपाउने भन्दै रन्थनिएको कांग्रेस अन्ततः चुनावी गठबन्धनमा होमिएको छ ।
गगनले लामो समयदेखि चुनावी गठबन्धन गर्न नहुनेमा आवाज उठाइरहेका थिए । उनले प्रायः कार्यक्रममा चुनावी गठबन्धनको विरोध गर्ने र यसलाई बन्द गर्नुपर्ने तर्क गरिराख्थे । अझ, गठबन्धन गरिए कांग्रेस एक नरहने चेतावनी समेत दिन्थे । सोही अनुसार महासमिति बैठकबाट पनि पारित भयो ।
चुनावी गठबन्धनलाई रोक्ने कांग्रेसको निर्णय उपचुनावमा आएर असफल भएको स्थिति छ । उपचुनावमा पुगेपछि कांग्रेसले सत्तारुढ दल नेकपा एमालेसँग मिलेर चुनावमा होमिएपछि यो निर्णयबोर कांग्रेस के भन्ला भन्ने चासो समेत बढेको छ ।
माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिने रुकुम पूर्वमा कांग्रेस एमालेले चुनावी गठबन्धन गरेका छन् । पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष पदका लागि हुन लागेको उपचुनावमा एमालेलाई कांग्रेसले सघाउने भएको छ । उसोतः रुकुम पूर्वमा एमालेले रुख चुनाव चिन्ह लिएर उपाध्यक्ष र सूर्य चिन्ह लिएर वडाध्यक्षको निर्वाचनमा जानेछ ।
त्यस्तै ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेले कांग्रेसलाई सघाउने भएको छ । दुबै जिल्लामा एमालेले जिसस प्रमुखका लागि उम्मेदवारी नै दिएको छैन । कांग्रेसका उम्मेदवारलाई एमालेले मतदान गर्नेछ ।
यसरी चुनावी गठबन्धन गरेको कांग्रेस र यस्तो निर्णय गराउन लागिपरेका महामन्त्री गगन थापाले अब दिने जवाफ कस्तो होला रु यसको समेत अपेक्षा गरिएको छ । यद्यपि पछिल्लो समय थापा पार्टी सभापति शेरबहादुर देउवा निकट बन्दै गएका छन् ।
आसन्न पार्टी महाधिवेशनमा देउवाको साथ लिन कस्सिएका थापाले देउवाले रुचाउने गठबन्धन संस्कृतिको विरोध गर्लान् ? यो समेत रोचक विषय बनेको छ ।