Logo
Logo

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायरको निर्माण सुरु


945
Shares

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ ।

यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो ।

सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् ।

गुरुङको अनुसार उक्त भवनको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको छ । दुई चरणमा काम सम्पन्न गर्ने र २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको गुरुङले बताएका छन् ।

अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ । जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ ।

कम्तिमा पनि ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ ।

साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए ।

गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्