काठमाडौं । बढुवाको मुखमा हनी ट्रयापमा जोडिएका एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान व्यूरोले उन्मुक्ति दिने तयारी गरेको छ । हनी ट्रयाप प्रकरणमा जोडिएका एसपी थापालाई सिआइबीले गत साता बयान लिएको भएपनि उन्मुक्ति दिने तयारी गरेको हो ।
व्यापारीलाई हनि ट्रयापिङमा फसाएर प्रहरीकै मिलेमतोमा ३० लाख असुलिएको घटनाको अनुसन्धानका क्रममा एसपी थापालाई बयान लिइएको थियो । एसपी थापा योजनाकार समूहका केही व्यक्तिसँग नजिक देखिएपछि प्रहरीले कारवाहीका लागि बयान लिएको थियो ।
सिआइबीले सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो । ‘एसपी थापाले आरोप अस्वीकार गरेका छन् । तर, इन्स्पेक्टर बिनु शाहीबारे केही थाह नभएको जवाफ दिएका छन्’, सिआइबी स्रोतले भन्यो । बढुवाको हुने बेलामा उनीमाथि यस्तो आरोप लागेकाले यसपटक उनको बढुवा छुट्ने निश्चितजस्तै भएको छ ।
गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो । जसमा प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो ।
निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेकी छिन् । उनको पक्राउमा प्रहरीले चासो दिएको छैन । उनका चालक रहेका सहायक हवल्दार महेन्द्र हमाल र गिरोहका ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ ।
इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध समेत पक्राउ पूर्जी जारी भएपनि फरार नै छन् । एसपी थापाले नै ताज इस्लामको समुहलाई इन्सपेक्टर शाहीलाई भेटाएको देखिएपछि अहिले थापामाथि अनुसन्धान शुरु भएको हो । पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको थियो । जसकारण उनको समेत यसमा योजना देखिएको छ । साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।
एसपी थापालाई प्रहरी प्रधानकार्यालयमा राखेर अनुसन्धान भैरहेको छ । प्रहरीले यसै साता मुद्धा अदालतमा बुझाउने प्रयास गरेको छ । सिआइबीले ललितपुर प्रहरी परिसरमा कार्यरत डिएसपी नरहरी अधिकारीमाथि पनि छानवीन गरिरहेको छ । डिएसपी अधिकारीमाथि निलम्बित इन्स्पेक्टर शाहीलाई छोइछिटो गरेको आरोप लगाइएपछि अनुसन्धान थालिएको हो ।