काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
महासंघले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ ध्यानाकर्षण गराएका हुन् । ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती नजिक आइरहेको बताए ।
नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे ।
लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना समेत गरेको छ ।
सो केन्द्रको सोमबार नै अध्यक्ष ढकाल सहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गरेका थिए ।