कुनै पनि मुलुकमा जनतालाई सुसूचित गर्न प्रेसको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रेसले सम्प्रेषण गरेको समाचार, टिप्पणी र विश्लेषणबाट नै जनमत निर्माण हुन्छ । २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि दलहरूमाथि प्रतिबन्ध लाग्यो ।
नेताहरू कोही जेल परे, कोही भारत पलायन भए । त्यस्तो अवस्थामा ३० वर्षसम्म लोकतन्त्रको पक्षमा साप्ताहिक पत्रिकाले भूमिका खेले । त्यसमध्ये वामपन्थी पत्रिका दृष्टि पनि एउटा हो । वामपन्थी विचार र समाचारका लागि एक हप्ता कुरेर दृष्टि किन्नेहरूको देशभरिकै पुस्तक पसलमा लाम हुन्थ्यो । नेपालका सबै तप्काका जनतालाई चेतनशील बनाई निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी नेपाली जनतालाई सार्वभौम सम्पन्न मालिक बनाउन दृष्टि साप्ताहिकको ठूलो भूमिका छ ।
दृष्टि प्रकाशनको मुख्य उद्देश्य नै एकदलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी जनतालाई आफ्नो राजनीतिक अधिकार स्थापित गराउनु थियो । समातामूलक समाज, शोषणरहित व्यवस्था स्थापना गर्नु थियो ।
नेपालमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन होस् वा माओवादीको सशस्त्र संघर्ष होस् अथवा २०६२/६३ को जनआन्दोलन होस् दृष्टि साप्ताहिकले संघर्षको मैदानमा कहिल्यै पनि पिठ्यूँ फर्काएन । त्यसका सम्पादक पटक पटक जेल गए, तर आफ्नो उद्देश्य तथा देश र जनताप्रतिको दायित्वबाट कहिले पनि पछाडि हटेन । ज्ञानेन्द्रको शासनकालमा दृष्टि कार्यालय बागबजारमा सेनाले घेरा हाल्दा पनि शाही शासनविरुद्ध दृष्टिले आफ्नो कलमलाई निरन्तरता दिइरह्यो । यही अडानका कारण आज पनि पाठकहरूले दृष्टि खोजी खोजी पढ्ने गर्छन् ।
पञ्चायतको ३० वर्षे कालरात्रि शासनकालमा पत्रिका निकाल्नु एउटा दुस्साहस थियो । राजधानी काठमाडौंमा मात्र होइन, मोफसलमा समेत नेपालको वामपन्थी राजनीतिक आन्दोलन कुन दिशामा गइरहेको छ भन्ने जान्न बुझ्न सबै तप्काका जनसमुदायले यसै पत्रिकाबाट जानकारी पाउँथे ।
नेपाली कांग्रेसपछि वाम आन्दोलनको नेतृत्व गरिरहेको नेकपा एमालेको गतिविधि बुझ्न यस साप्ताहिकमा प्रकाशित समाचारलाई आधिकारिकता मानिन्थ्यो । तिनताका आजको जस्तो इन्टरनेट र मोबाइलको सुविधा नभएकाले पत्रिकाहरूमा प्रकाशित समाचारलाई नै जनताले अनुसरण गर्ने गर्दथे ।
दृष्टि साप्ताहिकको सम्पादक जो भए तापनि नेकपा एमालेका नेताहरू मदन भण्डारी, झलनाथ खनाल, आरके मैनाली, रघु पन्त, मोदनाथ प्रश्रित तथा प्रदीप नेपालहरूले निगरानी गर्थे । लेटर प्रेसको जमाना भएकाले पत्रिका समयमा प्रकाशित गर्न निकै कठिन थियो । कालिमाटीको खाल्डो ठाउँमा सुनकोशी छापाखाना थियो । त्यतिबेला दृष्टि बुधवार प्रकाशित हुन्थ्यो तर भित्री पेज आइतबार, सोमबार र मंगलबार राति अबेरसम्म छापेर बुधवार काठमाडौंका पाठकसामु पु¥याइन्थ्यो ।
२०४४ सालमा दृष्टि साप्ताहिकको सम्पादकमा नारायण ढकाल नियुक्त भए र प्रदीप नेपालले सञ्जय थापाको नाममा विभिन्न समसामयिक विषयमा लेख र टिप्पणीहरू लेख्दथे भने देव्रे कुना शीर्षकमा यस पंक्तिकार बालसखा विमल निभाले नियमित आफ्नो कलम चलाउँथे ।
२०४६ सालको परिवर्तनअघि नेपालमा मिसन पत्रकारिताको युग थियो र चेतनशील समाजमा रूपान्तरणको चाहना राख्ने युवा समूहहरू पत्रकारिताको माध्यमबाट जनतालाई सचेत कसरी बनाउने भन्दै निरंकुश पञ्चायती शासनको विरुद्धमा बिगुल फुक्दै प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षरत थिए ।
जिल्ला–जिल्लामा वामपन्थी विचारधारा बोकेका युवापुस्ताहरूलाई नेकपा मालेमा संगठित गर्दै जिल्लामा घटेका राजनीतिका साथै जनजीविकाका सवालमा कलम चलाउने गर्दथे र यसै पत्रिकाको माध्यमबाट जनता सुसूचित हुन्थे । त्यतिबेला दृष्टिमा आबद्ध देशभरका पत्रकार आज वरिष्ठ सम्पादकका रुपमा परिचित छन् ।
यस पत्रिकामा मुलुकका विभिन्न घटनाहरू बाहेक अन्तर्राष्ट्रिय राजनीति, आर्थिक तथा सामाजिक तथा सांस्कृतिक साथै नेपालको छरछिमेक तथा विश्वका विभिन्न घटनाहरूका सम्बन्धमा समेत विश्लेषणात्मक लेख तथा टिप्पणीहरू पाठकहरूलाई सुसूचित गर्ने हेतुले प्रस्तुत गरिन्थ्यो ।
हालका चर्चित कार्टुनिष्ट रविन सायमी, किशोर श्रेष्ठ (जनआस्था साप्ताहिकका सम्पादक), स्वर्गीय अग्निशिखा, श्यामल, राजव यसै पत्रिकामा आबद्ध थिए ।
२०४६ पछि मिसन पत्रकारितामा केही ह्रास आउन थाल्यो र प्रेस स्वतन्त्र भएपछि पुँजीपतिहरू समेतले ब्रोडसिट दैनिक पत्रिका प्रकाशन प्रारम्भ गरे । र, त्यसैकालमा कान्तिपुर दैनिक, काठमाण्डू पोष्ट, नेपाल समाचार, हिमालय टाइम्सजस्ता पत्रिका प्रकाशन हुन थाले ।
तिनताका दृष्टि साप्ताहिकले वाम विचारधारालाई सशक्त ढंगले पाठकसमक्ष प्रस्तुत गरेर नेपाली जनमतलाई दक्षिण एसियामा ब्यालेटबाट संसदीय पद्धति अङ्गीकार गर्दै कमरेड मनमोहन अधिकारी प्रथमपटक उच्च कार्यकारी पद प्रधानमन्त्रीमा आसीन हुनुभयो ।
२०४६ साल फागुन ७ गतेदेखि नेपालका सबै प्रतिबन्धित दलले सशक्त ढंगले आन्दोलन छेडेपछि चैत २६ गते राजा वीरेन्द्रले राजदरबारमा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, साहना प्रधान, आरके मैनाली आदिलाई बोलाई प्रजातन्त्र बहाली गरे ।
सर्वमान्य नेता गणेशमान सिंहलाई राजाले ‘तपाईँ प्रधानमन्त्री पदमा आसीन हुनुपर्छ’ भन्दा उहाँले मेरो साटो किसुनजीलाई प्रधानमन्त्री बनाउन गर्नुभएको त्याग तिनताका राजनीतिक वृत्तमा मात्र होइन, सर्वसाधारणले समेत अचम्म मानेका थिए ।
त्यो दिन ल्याउन मिसन पत्रकारिताको अहं भूमिका थियो । किनभने, तत्कालीन मालेका नेता मदन भण्डारी भूमिगत थिए । केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी जेलमा थिए । धेरै नेता कार्यकर्ताहरू भूमिगत थिए । त्यस्तो बेला सिंगो पार्टीको जिम्मेवारी दृष्टि एक्लैको काँधमा आइपरेको थियो ।
२०४४ सालमा मदन भण्डारी मालेको महासचिव निर्वाचित भएपछि भण्डारीले कांग्रेससँग मिलेर संयुक्त आन्दोलन सञ्चालन गर्नुपर्ने निर्णय गरेका थिए । त्यो जगमा टेकेर २०४६ सालको संयुक्त जनआन्दोलनको तयारी भयो । र, त्यही आन्दोलनले प्रजातन्त्र पुनर्स्थापना ग¥यो । त्यसमा दृष्टिको अतुलनीय भूमिका रहेको छ ।