काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।
जोशी र पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै जोशीलाई मंगलबार काठमाडौं ल्याउने तयारी गरिएको हो । त्यसका लागि कास्की प्रहरीलाई काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।
जोशीको बयान सकिएलगत्तै लामिछानेलाई ल्याउने तयारी प्रहरीको छ । जोशी र लामिछानेलाई छुट्टाछुट्टै समयमा ल्याउने योजनामा काठमाडौं प्रहरी छ ।
यसैगरी कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।
शनिबार काठमाडौं ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी परिर काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान गराएको हो ।
रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।