काठमाडौं । राजनीतिक दलहरूले जनतालाई कसरी छलकपट गर्छन भन्ने उदाहरण प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको उपनिर्वाचनमा तालमेल गरेबाट स्पष्ट भएको छ । निर्वाचनका तालमेल नगर्ने रटान लगाउँदै आएका कांग्रेस र एमालेले अन्ततः आफैँ तालमेल गरेका छन् ।
केही दिनअघिसम्म कांग्रेस र एमालेका नेताहरूले एक्लाएक्लै चुनाव लड्ने भाषण गर्दै आएका थिए । तर, स्थानीय तह उपनिर्वाचनमा एमाले र कांग्रेसले दुई जिल्ला समन्वय समितिको प्रमुख र एउटा पालिकाको उपाध्यक्षमा तालमेल गरेर जनतालाई ‘उल्लु’ बनाएका छन् ।
ओखलढुंगा जिल्ला समन्वय समिति र कैलाली जिल्ला समन्वय समितिमा एमालेले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ । जसका कारण ओखलढुंगा जिल्ला समन्वय समितिमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध भएका छन् । कांग्रेसले कैलालीमा टीका चौधरीलाई उम्मेदवार बनाएको छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ ।
यता, रुकुम पूर्वको पुथा उत्तरगंगामा एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन कांग्रेसको चुनावचिह्न रुख लिएर उम्मेदवार बनेकी छिन् । चुनावी तालमेल नगर्ने भाषण गरेर मुख्य प्रतिस्पर्धी दाबी गर्ने कांग्रेस र एमालेले चुनाव चिह्नसमेत अर्कोको लिनुले ‘झुटो बोल्नु नै राजनीति हो’ भन्ने भाष्य निर्माण गरेको छ ।
यो भनेको राजनीतिक स्खलनको नमुना पनि हो । एमालेको जिल्ला उपसचिवजस्तो पदमा रहेको व्यक्ति कांग्रेसको रुख चिह्न लिएर निर्वाचन लड्नु राजनीतिक विकृतिको पराकाष्ठाबाहेक केही पनि होइन ।
अचम्मको कुरा के छ भने, पुथा उत्तरगंगा उपाध्यक्ष उम्मेवार कांग्रेस र एमाले दुबै दलले आफ्नो दाबी गरेका छन् । कांग्रेसको चुनाव चिह्न, एमालेको जिल्ला नेता अनि दाबी दुबैको यो भन्दा गाइजात्रे राजनीति अरु हुन सक्दैन ।
माओवादीको उम्मेदवारलाई पराजित गरेर प्रतिपक्ष दललाई दबाबमा राख्न एमाले र कांग्रेसले छलकपटको राजनीति गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
कांग्रेस नेताहरूले एमालेले हैसियत नबिग्रियोस् भनेर कांग्रेस उम्मेदवारलाई सघाएको दाबी गरेका छन् । ‘हामीले तालमेल गरेका होइनौँ । कांग्रेसको जित निश्चित भएको ठाउँमा एमालेले समर्थन गरेको मात्रै हो । कांग्रेस ठूलो पार्टी भएकाले प्रभाव पनि ठूलै हुने भयो । कतिपय ठाउँमा एमालेले प्रतिष्पर्धा गर्न नसक्ने भएपछि समर्थन गरेको हो ।’ कांग्रेसका एक केन्द्रीय नेताले भने ।
एमालेका नेताहरूले भने जिल्ला तहका संयन्त्रमा छलफल भएर स्थानीय तालमेल भएको बताएका छन् । पार्टीको नीति भने सबैतिर एक्लाएक्लै मित्रवत् प्रतिस्पर्धा गर्ने नै भएको एमाले नेताहरू दाबी गर्छन ।
स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको रिक्त ४४ पदका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तहमा विभिन्न कारणले रिक्त जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा निर्वाचन हुँदै छ ।
कीर्तिपुरमा माओवादीको जोड
माओवादीले कीर्तिपुरमा ऐतिहासिक जित निकाल्ने दाबीसहित सम्पूर्ण शक्ति लगाएको छ । स्थानीय तहमा माओवादीले हालसम्म कीर्तिपुरमा जित्न सकेको छैन । यसपटक भने कीर्तिपुरमा जित्ने गरी अगाडि बढेको माओवादी नेताहरू दाबी गर्छन । त्यसैले माओवादीले अन्य दलको समेत समर्थन जुटाएको छ ।
कीर्तिपुरमा मेयरमा माओवादीका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादी र जसपाले साथ दिएका छन् । कीर्तिपुरको मेयरमा समर्थन गरेको एकीकृत समाजवादीलाई काठमाडौं वडा नम्बर १६ को वडाध्यक्षमा माओवादीले समर्थन गरेको छ । काठमाडौं १६ मा एकीकृत समाजवादीका मीनबहादुर मानन्धर उम्मेदवार छन् ।
यस्तै, कीर्तिपुर वडा नम्बर ४ को वडाध्यक्षमा माओवादीका ई. नारायण विष्टलाई जसपाले समर्थन गरेको छ भने, कीर्तिपुर वडा नम्बर १ को वडाध्यक्षमा जसपाका सरलगोपाल महर्जन माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् । कीर्तिपुरमा रास्वपाको मतसमेत तान्ने रणनीतिमा माओवादी लागेको छ ।
रास्वपाको पहिलो स्थानीय चुनाव
मेयरका लागि उपनिर्वाचन हुने एक मात्रै स्थानीय तह कीर्तिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उम्मेदवार उठाएको छैन । रास्वपाले ४४ मध्ये २६ पदमा उम्मेदवारी दिएको छ ।
रास्वपाले झापाको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नवीनकुमार खवासलाई उम्मेदवार बनाएको छ । तेह्रथुमको लालिगुराँस नगरपालिका ८ को वडाध्यक्षमा सञ्जीव खड्का, सुनसरीको गढी गाउँपालिका ६ वडाध्यक्षमा शशिकुमार साहुु, ओखलढुंगा मेलुङ गाउँपालिका ५ को वडाध्यक्षमा विष्णुप्रसाद पोख्रेल उम्मेदवार बनाएको छ ।
ताप्लेजुङको जिरिजंघा गाउँपालिका ३ को वडाध्यक्षमा देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र उदयपुरकै बेलका नगरपालिका ९ को वडाध्यक्षमा तेजमान विश्वकर्मा, धनुषाको धनुषाधाम नगरपालिका १ को वडाध्यक्षमा नरेश दास, महोत्तरीको रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षमा खुर्सैद खाँलाई उम्मेदवार बनाएको छ ।
यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठ र हुम्ला सर्केकोट गाउँपालिकाको उपाध्यक्षमा वाचा बुढालाई उम्मेदवार बनाएको छ । काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठ, नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्षमा मंगलसिद्धि लामा तामाङ, हेटौंडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा आशा विरवल, गोरखाको गोरखा नगरपालिका ५ को वडाध्यक्षमा मंगलबहादुर थापाले उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो । २०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन नै भएको थिएन ।
सरकारबाटै असुरक्षा बढेको दाबी
रास्वपाले उपनिर्वाचनमा आफ्ना उम्मेदवारमाथि सरकारबाटै असुरक्षा बढेको दाबी गरेको छ । रास्वपा निर्वाचन परिचालन समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले आफ्ना उम्मेदवारलाई राज्यबाटै धाकधम्की र अपहरणको प्रयास भएको दाबी गरेका छन् ।
हुम्ला र मधेश प्रदेशका केही स्थानमा रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारूढ कांग्रेसका सदस्यहरूले दुव्र्यवहार र कुटपिटसमेत गरेको उनको दाबी छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाले जनाएको छ ।