Logo
Logo

सांसदहरू पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश भएन: प्रभु साह


252
Shares

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरू पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको टिप्पणी गरेका छन् । 

सांसदहरू जनताको चाहना र आवश्यकता अनुसार काम नगरी भ्रष्ट नेताहरूको निर्देशनमा काम गरेकाले आम जनताले दुख पाइरहेको उनको भनाई रहेको छ । 

आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज रौतहटको सखुअवा बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सांसदहरू जनता प्रति उत्तरदायी नभएको बताए ।

‘सांसदहरू दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरू जनता प्रति उत्तरदायी भएनन् । उनीहरू दलप्रति उत्तरदायी भए । दुई चार भ्रष्ट नेताको निर्देशनमा काम गर्छन् । 

जनताको आवश्यकता, चाहना के हो बुझेनन् सांसदहरू’, आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यकता के हो सांसदहरूले बुझ्ने काम गरेनन् वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएनन् ।’ 

जनताको मतबाट निर्वाचित सांसदहरू जनताको आवश्यकता, चाहना बुझ्नुपर्ने उनले बताए । जनताको चाहना र आवश्यकता बुझेर दललाई सोही बाटोमा हिँडाउनुपर्ने भए पनि उनीहरू दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरूले जनताको कुरा सुन्ने, बुझ्ने, उनीहरूको आवश्यकता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ । 

दलका शीर्ष नेताहरूको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरूको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझ्ने र सोही अनुसार कानून निर्माण देखी संसदमा भूमिका निर्वाह गर्नुको साटो सांसदहरू दलका नेताहरूको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए । 

भ्रष्टाचारविरुद्धको मधेस यात्राको क्रममा गृहजिल्ला पुगेका आजपा अध्यक्ष साहले मुलुकलाई जोगाउनका लागि भ्रष्ट, लुटकारी दलाल दलतन्त्रको विरुद्धमा आम जनता सडकमा आउनुको विकल्प नभएको बताए । सरकार र व्यवस्थाको विरुद्धमा जनताले आवाज उठाए पनि अब संगठित भएर जनआन्दोलनको तयारीमा जुट्नु पर्ने उनले बताए । 

यस्तै उनले सीमावर्ती क्षेत्रका नागरिकलाई सरकारले सुरक्षा दिन नसकेको बताउँदै उनले कर छलीको नाममा नागरिकको निजि सम्पती सरकारले लुट्ने काम गरिरहेको आरोप लगाए । सीमावर्ती क्षेत्रमा भन्सार कार्यालय आवश्यक भएको भए पनि सरकारले भन्सार स्थापना नगरेको गुनासो उनले गरे । छोटी भन्सारहरूको स्तरोन्नति गर्नुपर्ने भए पनि सरकारले त्यसमा ध्यान नदिएको उनले बताए । 

वर्तमान सरकार असफल भइसकेको टिप्पणी उनले गरे । अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको विकल्प खोजिरहेको बताउँदै उनले लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउनुको विकल्प नभएको बताए । 

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिद्ध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुकमा भ्रष्ट, लुटेरा, अपराधीहरूको हालीमुहाली रहेको र मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । तर सरकारमा भएकाहरूको कसरी लुट्ने भन्ने विषयमा ध्यान केन्द्रित छ । करमाथि कर थप्ने काम गरिरहेको सरकारले राज्यको ढुकुटी लुटिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्