Logo
Logo

दृष्टिको इतिहासलाई फर्केर हेर्दा


189
Shares

‘मिसन’ पत्रकारिता अर्थात् विचारको पत्रकारिता । मिसनविनाको पत्रकारिताको खासै अर्थ रहँदैन । पत्रकारिताको मिसन भनेको आम नागरिकलाई सुसूचित गर्नु हो ।

मिसनले पत्रकारिताको ओज बढाउँछ र समाजमा लोकतान्त्रिक पद्धतिको पृष्ठपोषण गर्छ । तथ्य सूचना र विचारले मात्रै समाज निर्माणमा योगदान पु¥याउँछ । विचारको माध्यमबाट जनतालाई सुसूचित गर्दै निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो ।

मिसन पत्रकारिताकै रुपमा दृष्टि साप्ताहिक पनि आजभन्दा ४१ वर्षअघि स्थापना भएको थियो । जुन, आजसम्म पनि नियमित रुपमा हरेक मंगलबार प्रकाशित हुँदै आएको छ ।

दृष्टि सुरु हुँदा निरंकुश तानासाही पञ्चायती व्यवस्था थियो । दृष्टिको जन्म बहुदलीय व्यवस्थाको पुनः स्थापनाको उद्देश्य बोकेर भयो । २०४६ सालको जनआन्दोलनमा दृष्टिको पाठक लाखौँ थिए । जतिबेला आमसञ्चारमाध्यमको उपस्थिति एकदमै न्यून थियो ।

हरेक आन्दोलनको अग्रमोर्चामा उभिएर दृष्टिले लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको छ । त्यतिबेला पञ्चायती निरंकुश शासनविरुद्ध पत्रकारिता गर्नु भनेको ठूलो अपराध ठहरिन्थ्यो । र, त्यसक्रममा ‘दृष्टिमाथि सरकारी सेन्सरसीप, राज्यविरुद्धको अभियोग, जेल, नेल सामान्य थियो । इलाममा दृष्टि पाठकमाथि मुद्दा नै लाग्यो । तर, दृष्टि अजंगको पहाडझैँ निरन्तर आफ्नो पक्षमा अडिरह्यो ।

दृष्टि जन्मिँदै गर्दा राजा र राजपरिवारका बारेमा टीकाटिप्पणी गर्न नपाइने संवैधानिक व्यवस्था थियो । गाउँगाउँसम्मै पञ्च र पुलिस मिलेर राजाका नाममा निरङ्कुशतन्त्र चलाएका थिए । उनीहरूले जे भन्थे, त्यही कानुन हुन्थ्यो । त्यस्तो अवस्थामा दृष्टिमाथि राज्यविरुद्धको अभियोग लगाइएको थुप्रै उदाहरण छन् ।

दृष्टि आफूमात्रै बदलिएको छैन । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र धार्मिक स्वतन्त्रतालाई आजको रूपमा ल्याउन पनि दृष्टिको ठूलो योगदान छ । दृष्टिले लोकतन्त्र बहालीपछि सुशासनलाई मिसन बनाएको छ । यसमा को कांग्रेस ? र, को कम्युनिष्ट ? भनेर केही छुटाएको छैन

‘दृष्टि’ कार्यालय वरपर सादा पोसाकका प्रहरीहरूले पहरा दिन्थे । दृष्टिमा कार्यरत पत्रकारहरू कतिबेला पक्राउ पर्थे पत्तै हुँदैन थियो । यो सबै अनुभवहरू पार गर्दै दृष्टि यहाँसम्म आइपुगेको छ । दृष्टिले नेपाली पत्रकारितामा गौरवमय इतिहास बनाएको छ । आज दृष्टि जहाँ छ, हिजोको इतिहासको विरासत लिएर उभिएको छ । भोलि जहाँ पुग्नेछ, त्यतिबेला पनि आजसहितको इतिहासको विरासत बोकेरै उभिने छ ।

पञ्चायतविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्र, निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक संघर्षमा ‘दृष्टि’ सधैँ अग्रमोर्चामा रह्यो । राजनीतिक, सामाजिक र आर्थिक बदलावका निम्ति दृष्टिले सधैँ परिवर्तनको पक्षमा, जनताको पक्षमा वकालत गरिरह्यो । र, गरिरहनेछ । ४१ वर्ष निरन्तर पत्रिका प्रकाशित हुनु चानचुने कुरा होइन । यस अवधिमा जतिपनि राजनीतिक परिवर्तन भयो, त्यसको साक्षी ‘दृष्टि’ पनि एक हो ।

परिवर्तनको शाश्वत नियम नै हो । आज पत्रकारिता पनि परिर्वतन भएको छ । छापा माध्यम घट्दो क्रममा छ । त्यसको ठाउँमा अनलाइनले विश्वबजार जमाएको छ । तर आधिकारिक सूचना र समाचारका लागि छापा माध्यममा भरपर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ ।

प्रविधिको विकाससँगै हामीले दृष्टिलाई पनि परिस्कृत गरेका छौँ । समय अनुकुल परिवर्तन हुँदै दृष्टि अनलाइन संस्करणमा बजारमा उपलब्ध छ । सात दिनमा निस्कने दृष्टि आज छिनछिनमा अनलाइन संस्करणमा आइरहेको छ । जसको लाखौं प्रबुद्ध पाठक छन् ।

दृष्टि आफूमात्रै बदलिएको छैन । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र धार्मिक स्वतन्त्रतालाई आजको रूपमा ल्याउन पनि दृष्टिको ठूलो योगदान छ । दृष्टिले लोकतन्त्र बहालीपछि सुशासनलाई मिसन बनाएको छ । यसमा को कांग्रेस ? र, को कम्युनिष्ट ? भनेर केही छुटाएको छैन । जुनसुकै पार्टीको भ्रष्टाचार र अनियमितताविरुद्धको प्रहारलाई तेजिलो बनाएको छ ।

दृष्टिको राजनीतिक मिसन सफल भएपनि हिजो दृष्टिले अंगालेको विचारमाथि निहित स्वार्थले विकृति, विसङ्गति जन्माएका छन् । ‘मिसन पत्रकारिता’को उद्देश्य राजनीतिक लक्ष्य हासिल गर्नु हो । उद्देश्य प्राप्ति भएपछि त्यस्तो मिसन स्वतः अन्त्य हुन्छ । तर, दृष्टिको हकमा त्यसो भएन । लोकतन्त्रपछि नयाँ मिसन सुरु भयो, त्यो हो सुशासन ।

लोकतन्त्रको रक्षा, आवाज विहीनहरूको प्रतिनिधित्व, सुशासन र सत्तामा रहेकाहरूमाथि लगातार निगरानी दृष्टिको अर्को मिसन बन्यो । दृष्टिले लोकतन्त्रको स्थापनापछि सुशासन र आर्थिक विकासको मुद्दालाई प्राथमिकतामा राख्यो । धेरै काण्ड, भ्रष्टाचारको भण्डाफोर ग¥यो । अझै थुप्रै काण्डको भण्डाफोर गर्नु छ ।

दृष्टि आज पनि नेपाली जनताको सुसूचित हुने अधिकारको पक्षमा मिसन पत्रकारिता गरिरहेको छ । सत्तालाई कठघरामा उभ्याएर बेथिति, व्यविचारविरूद्ध प्रश्न गरिरहेको छ । आवाजविहीनलाई आवाज दिइरहेको छ ।

यसो गर्दा दृष्टि र यस्तो मिसन पत्रकारिता गर्नेहरू चौतर्फी घेराबन्दीमा छन् । एकातिर व्यावसायिक पत्रकारिताका नाममा ठूला कर्पोरेट हाउसहरू व्यापार गरिरहेका छन् । अर्कोतिर सामाजिक सञ्जाल, युट्युबलगायतका वैकल्पिक सञ्चारमाध्यम सूचनाको नाममा भ्रमको खेती गरिरहेको छ ।

एकातिर पत्रकारिताको नाममा व्यापार, अर्कोतिर पत्रकारिताको नाममा अराजकता । त्यसको मारमा परेर इतिहासमा अहम् योगदान गरेका कतिपय पत्रपत्रिकाको नाम निशान नै मेटिसकेको छ । यद्यपि, दृष्टि नयाँ मिसनका साथ ४२ वर्षको गौरवमय यात्रामा छ । दृष्टिका सामु अझै पनि चुनौतीका अजंग पहाडहरू उभिएकै छन् । चुनौतीका ती पहाडलाई अवसरका मैदानमा बदल्नु छ ।

हरेक अप्ठेरा, कठिनाइ र चुनौतीमा आमपाठकबाट प्राप्त साथ र विश्वास नै दृष्टिको सम्पत्ति हो । यसैको जगमा हामीले सत्यको उजागर गर्दै जनपक्षीय मिसन पत्रकारितालाई निरन्तरता दिँदै आएका छौँ । हरेक अग्रगामी मोर्चामा सहयात्री भई सूचना, समाचार, विश्लेषण र ज्ञान प्रवाह गर्ने अग्रणी माध्यमका रूपमा हामी निरन्तर जनताको साथमा हुनेछौँ । हाम्रो निष्ठा एवं प्रतिबद्धतामा कहिल्यै कमी आएन ।

निर्भीक पत्रकारिताको जग हामी कहिल्यै भुल्ने छैनौँ । असंख्य पाठकको प्रेमले ‘दृष्टि’ देशकै लोकप्रिय साप्ताहिक पत्रिका बन्न सफल हुँदै आएको छ । लोकतन्त्रलाई मिसन बनाएर पत्रकारिताको यात्रा सुरु गरेको ‘दृष्टि’ सुशासनप्रति प्रतिबद्ध छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट नेपाल र नेपाली जनताको समृद्धिका लागि दृष्टि हरपल समर्पित छ । भ्रष्टाचार र कुशासनका विरुद्ध दृष्टिले चौबीसै घण्टा खबरदारी गरिरहने छ । मात्र खाँचो छ, पाठकको माया र विश्वासको । आजबाट दृष्टि साप्ताहिक ४१ वर्ष पूरा गरेर ४२ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण पाठकवर्गमा हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्