काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने भएका छन्। उनी स्वास्थ्य उपचारका लागि यहि मंसिर १० गते जापान जान लागेका हुन्।
मन्त्री राणाले ११ गते जापानको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यसपछि उनी जापानबाटै मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।
मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन् । मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका छन् ।
प्रधानमन्त्री भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री चीन जान लागेका हुन् । यद्यपी प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी नै छ ।