काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग (बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग) को पदाधिकारी बन्न १५६ जनाले आवेदन दिएका छन् ।
सरकारले गठन गरेको टिआरसी सर्च कमिटीको आवेदनका आधारमा हिजोसम्म कूल १५६ जनाले आवेदन दिएका हुन् ।
जसमा अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । आवेदकहरुमा उच्च अदालतका पूर्वन्यायाधीशसमेत छन् ।
भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ आवेदन परेको कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालले जानकारी दिए ।
उनका अनुसार केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् । २०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो ।
त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म थियो ।