Logo
Logo

बीपी राजमार्ग प्रत्येक दिन राति ७ घण्टा बन्द हुने


189
Shares

काठमाडौं । बीपी राजमार्ग प्रत्येक दिन राति सात घण्टा बन्द हुने भएको छ ।

बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्मका विभिन्न ठाउँमा डाइभर्सनको काम गर्नुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी रातिको समयमा धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिने जानकारी दिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन भनिएको छ । यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ ।

सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइँदै आइएको हो । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्