काठमाडौं, १९ जेठ ।
भारतसँगको नाका मात्र नभई चीनसँगको सीमानामा पनि सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिती बिस्तार गर्दै लगेको छ ।
हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । बिओपी स्थापनाका लागि सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ । कार्यालय राख्ने तयारीका लागि टोली त्यहाँ पुगेको हो। केही दिनअघि मात्र मुस्ताङको नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको थियो ।
टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि औपचारिक रूपमा बिओपी स्थापना गरिने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।
बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । हिमपातसँगै चिसो बढेपछि गत मंसिरदेखि टोली नाम्खा गाउँपालिकाको मुचुमा सरेको छ ।
सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाका केन्द्रीत गर्ने तयारी गरेको छ ।