Logo
Logo
समाचार टिप्पणी

हरेक वर्ष विनोद चौधरीको पीडा


1.1k
Shares

काठमाडौं । हरेक वर्षको कर दिवसले विनोद चौधरीको टाउको दुखाउने गरेको छ । आफूलाई नेपालको एक मात्र डलर खर्वपति दाबी गर्ने चौधरीको नाम व्यक्तिगत आयकर तिर्ने सूचीमा कहिले पनि परेन । न त सबैभन्दा बढी कर तिर्नेमा उनको चौधरी ग्रुप परेको छ ।

यसपटक पनि व्यक्तिगत आयकर तिर्नेमा जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर साह सम्मानित भए । यसभन्दा अगाडि उक्त ग्रुपबाट विजय साह सम्मानित भएका थिए । त्यतिबेला विजय साहले भनेका थिए– ‘नेपालमा मभन्दा धनी व्यापारीहरू पनि छन् । तर, सबैभन्दा बढी आयकर तिर्नेमा म सम्मानित हुन पाउँदा गर्वले छाती फुलेको छ ।’ त्यसैगरी केही वर्ष अगाडि व्यक्तिगत आयकर तिर्नेमा सोल्टी ग्रुपका सिद्धार्थ राणाको नाम आएको थियो ।

त्यसो त विनोद चौधरीको लगानी रहेको नविल बैंक सबैभन्दा बढी कर तिर्नेमा यसपटक सम्मानित भएको छ । तर, नविल बैंकमा चौधरीले गरेको लगानीमाथि नेपाल राष्ट्र बैंकले छानबिन गर्दै छ । चौधरीले बंगलादेशको एउटा कम्पनीमार्फत नविल बैंकमा लगानी गरेका हुन् ।

प्रत्येक वर्षको मुनाफा उनले डलरमा विदेश पु¥याउँछन् । त्यो रकम उनले कहाँ कहाँ लगानी गरे भन्नेमा राष्ट्र बैंकले छानबिन थालेको छ । तर, राजनीतिक पहुँचको आधारमा राष्ट्र बैंक निरीह बनेको छ । राष्ट्र बैंक स्रोतका अनुसार यो विदेशी मुद्रा अपचलन हो ।

त्यतिमात्र होइन, विनोद चौधरी बेलाबेला भ्याट छली प्रकरणमा पनि मुछिँदै आएका विवादास्पद व्यापारी हुन् । उनले पाँच अर्ब भ्याट छली गरेको प्रकरणमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आँखा चिम्लिदा तत्कालीन राजस्व सचिव रामेश्वर खनालले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

उनको पृष्ठभूमि दरबारीया हो । राजपरिवारसँग सम्बन्ध विस्तार गरेर उनले अथाह सम्पत्ति जोडे । स्व. धीरेन्द्र शाहसँग उनको निकट सम्बन्ध थियो । धीरेन्द्रसँग मिलेर गुर्जुधारामा अपोलो स्टिल कारखाना खोले । त्यो ठाउँमा अहिले सीजीको स्टोर छ ।

सत्ता र शक्तिसँग नजिक भएर आफ्नो स्वार्थपूर्ति गर्ने उनको पुरानै प्रवृत्ति हो । बहुदलीय व्यवस्था आएपछि उनी एमाले भएर समानुपातिक सांसदसमेत बने । पछि, उनले एमाले त्यागे र अहिले कांग्रेसबाट सांसद बनेका छन् । स्वार्थका लागि जता पनि ढल्किने स्वभावका व्यापारी मात्र हुन् उनी । तर, राजनीतिक दललाई ‘चन्दा’ चाहिने भएर उनी जस्ता अवसरवादी जता पनि ठिक हुन्छन् ।

तिनै विनोद चौधरी अहिले ठूलो पीडामा छन् । कर दिवसमा उनी र उनको कम्पनीको नाम सम्मानित हुनेको लिस्टमा नपरेपछि ०८०/८१ मा चौधरी ग्रुपले सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख कर तिरेको प्रायोजित समाचार छाप्न लगाएका छन् । चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा यो रकम राजस्वमा योगदान गर्नेहरू मध्ये सबैभन्दा उच्च भएको दाबी गरिएको छ ।

उनको विज्ञप्ति पढ्नेहरूले उक्त रकम भ्याट अन्तःशुल्क अन्तर्गत तिरेको बताएका छन् । उपभोक्ताहरूले तिरेको भ्याट सरकारलाई बुझाएको कुरालाई उनले सबैभन्दा बढी कर तिरेको भनेर झुक्क्याएका छन् । उनले यो रकम आफ्नो मुनाफाबाट तिरेको कर होइन । यसबाट चौधरी ग्रुपले ठूलो मात्रामा राजस्व छलेको स्पष्ट हुन्छ ।

देशैभरी व्यापारिक सञ्जाल जोडेर हजारौँलाई रोजगारी दिएको चौधरी ग्रुप हरेक वर्ष सरकारले गर्ने सम्मानबाट किन पछाडि प¥यो भन्ने कुरा चौधरी ग्रुपका प्रवक्ता मधुसुधन पौडेलले बताउन चाहँदैनन् । तर, उनले चौधरी ग्रुप अन्तर्गतका कम्पनीले तिरेको कर एकमुस्ट जम्मा गर्दा आफू सर्वश्रेष्ठ करदाता भएको दाबी गर्छन् ।

त्यसो त नेपालका एक मात्र कथित डलर खर्बपति ठान्ने विनोद चौधरीसमेत सबैभन्दा बढी कर तिर्ने करदातामा नपर्नुले उनको खर्बौको सम्पत्तिको स्रोतमाथि पनि शंका उठेको छ ।

प्रतिक्रिया दिनुहोस्