काठमाडौं । सरकारको नेतृत्व गरिहरेको दल एमालेले आयोजना गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । कार्यालय समयमा घरबाट निस्किएका काठमाडौंवासी जामको सास्तीमा परेका छन् ।
प्रदर्शनले सडक र सवारीलाई सास्ती मात्रै दिएको छैन । सरकारी तथा निजी कार्यालयहरू पनि ठप्प बनेको छ । कार्यालय समयमा कर्मचारी नपुग्दा सेवाग्राहीले पनि सास्ती भोगेका छैन ।
घण्टौँ जाममा फसेका सर्वसाधारणले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफैँ सत्तामा बस्ने अनि आफैँ जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् । धेरैको प्रश्न छ, ‘प्रधानमन्त्रीले शक्ति कसलाई देखाउन खोजेका हुन् ?’
एमालेले आज दरबारमार्गमा ‘जागरण सभा’ नाम जनप्रदर्शन गर्दैछ । जसलाई एमालेको शक्ति प्रदर्शनका रुपमा हेरिएको छ ।
पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई तटस्थ विश्लेषकले भने बेतुक भनेका छन् ।
सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ ।
एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।