Logo
Logo

रवि लामिछानेसँगै मोहन थापा पनि अवैध हुन्डी कारोबारमा तानिँदै


4.5k
Shares

काठमाडौं । सहकारीको रकम ग्यालेक्सी मिडियामा लगी अपचलन गरेको आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि हुन्डी र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने भएको छ ।

लामिछानेसँगै अवैध हुन्डीको कारोबारमा रास्वपाका केन्द्रीय सदस्य मोहन थापा पनि तानिने भएका छन् । अमेरिकामा विभिन्न मुद्दा खेपिरहेका थापा रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेपाल आएका छन् ।

उनी लामिछानेलाई थुनामुक्त गराउनका लागि सुरुमा पोखरा र भैरहवा पनि पुगेका थिए । न्यायालयमार्फत् पहुँच र प्रभावका आधारमा छुटाउनका लागि थापा लागे पनि रविमाथि एकपछि अर्को अनुसन्धान हुँदै जाँदा हुन्डी र सम्पत्ति शुद्धीकरणमा थापा समेत तानिने देखिन्छ ।

लामिछानेले नेपालबाट गैरकानुनी रूपमा हुन्डीमार्फत थापालाई अमेरिकामा पैसा पठाएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ । प्रहरीले रविको बैंक खातामा जम्मा भएको ठूलो परिमाणको रकम निकालिएको तर खर्च गरेको नदेखिएपछि अनुसन्धान गर्न लागेको स्रोत बताउँछ ।

स्रोतका अनुसार रविले हुन्डीमार्फत अमेरिकामा पठाएको रकमको व्यवस्थापन रास्वपाकै केन्द्रीय सदस्य मोहन थापाले गर्दैआएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । अमेरिकामा हुँदा मोहन थापा र रविसँगै बस्ने गरेका थिए । अमेरिका निवासी थापा ठगी धन्दामा संलग्न रहँदै आएका छन् ।

थापा फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् । थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै अमेरिकामा चन्दा उठाउने गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको आरोप लाग्दै आएको छ । थापाले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएको खुलेको छ ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनले अमेरिकानिवासी ब्यवसायी सुबुप्रताप केसीलाई समेत ठगी गरेको तथ्य बाहिरिएको छ ।

रवि लामिछानेले नेपालबाट पठाएको हुन्डीको रकम मोहन थापाले अमेरिकामा ब्यवस्थापन गर्दै आएको खुलासा रास्वपाबाट निस्कासित भएका महामन्त्री डा. मुकुल ढकालले नै गएको साउन १५ गते एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा गरेका थिए ।

डा. ढकालले अन्तर्वार्ताका क्रममा पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवामा पैसा खाएको र उक्त रकम हुन्डीमार्फत अमेरिका पठाउने गरेको बताएका थिए । हुन्डीमार्फत पठाइएको उक्त रकम रास्वपाका केन्द्रीय सदस्यद्वय मोहन थापा र गोमा क्षेत्रीले अमेरिकामा बुझ्ने गरेको उनले बताएका थिए ।

गृहमन्त्रीका रुपमा लामिछानेले १ नम्बरका एसएसपी नगरी नभई ५ र छैटौं नम्बरकालाई डिआइजी बढुवा दिएका थिए । पाँचौँ नम्बरका एसएसपीलाई बढुवा दिँदा आर्थिक लेनदेन गरेको र उक्त रकम अमेरिकामा हुन्डीमार्फत थापा र क्षेत्रीलाई पठाइएको आरोप लगाएका थिए । लामिछाने गृहमन्त्री हुँदा कनिष्ट एसएसपी दानबहादुर कार्की र मनोजकुमार केसी डिआइजी बढुवा भएका थिए ।

डा. ढकालले अन्तर्वार्ताकै क्रममा केन्द्रीय सदस्यहरु मोहनजंग थापा र गोमा क्षेत्री अमेरिकामा रहेको र उनीहरुले उता पैसा बुझेर पठाउने गरेको बताएका थिए । निष्काशित महामन्त्री ढकालले अमेरिकामा रहेकी गोमाले महिनामा २ लाख ५० हजार पार्टीलाई पठाउने गरेको रहस्य पनि खोलेका थिए ।

ढकालले भनेका थिए– ‘एक नम्बरको मान्छे बढुवा नभई जब ५ नम्बरको मान्छे बढुवा हुन्छ, त्यो भ्रष्टाचार भएको मान्नुपर्छ । नत्र १ नम्बरको मान्छे नभएर ५ नम्बरको मान्छे बढुवा हुनुको आधार के ? लेनदेन थियो । यो लेनदेन नेपालमा हुँदैन । अमेरिकामा हुन्छ । अमेरिकामा रास्वपाका मोहनजंग थापा र गोमा क्षेत्री भन्ने दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ । गोमा क्षेत्रीको नामबाट प्रत्येक महिना अढाइ लाखको दरले पार्टीलाई पैसा पनि आउँछ । यो लेनदेन अमेरिकामा हुन्छ, लेनदेन यहाँबाट प्रमाणीकरण हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्