काठमाडौं । राहदानी वितरणको काम दुई दिनदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया बन्द भएको हो ।
यो सँगै तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । महानिर्देशक अर्यालका अनुसार बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज बन्द भएको हो ।
आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको महानिर्देशक अर्यालले बताए ।
विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकालेको पत्रमा उल्लेख छ ।