काठमाडौं । चिकित्सा शिक्षा आयोगको १५औँ बैठक आज बस्दै छ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आज बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेन्डामा सामान्य विषय मात्र समेटिएका छन् ।
आयोगले सदस्यहरूलाई आइतबार बस्ने बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ । त्यसमा पिजी भर्नामा देखिएको विवादको विषय उल्लेख गरिएको छैन ।