काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-९ एकता बस्तीस्थित लोयल्टी एकेडेमीले एक समारोहबीच आफ्नो २१औँ स्थापना दिवस मनाएको छ । संघीय संसद एल.पी. साँवाको प्रमुख आतिथ्यमा आयोजित समारोहको विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले अध्यक्षता गरेका थिए ।
स्थानीय जनप्रतिनिधि, स्थानीय व्यत्तित्व तथा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक कर्मचारी, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयका पूर्वव्यवस्थापन समितिका सदस्य (हाल बुढानिलकण्ठ नगरपालिकाका मेयर) मिठाराम अधिकारीलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुरुम्वाङले स्वागत गर्दै स्थापनाकालदेखि २१औँ बर्षसम्म आइपुग्दा विद्यालयले हासिल गरेका उपलब्धीबारे प्रकास पारेका थिए ।
कार्यक्रममा बोल्दै बुढानिलकण्ठ–९ की वडाध्यक्ष सुमित्रा त्रिपाठीले समाज र राष्ट्रलाई सही दिशानिर्देश गर्ने अभियन्ता विद्यालय नै रहेको बताउँदै सो मार्गमा लोयल्टी एकेडेमीले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरेकी थिइन् ।
यस्तै, कार्यक्रममा सम्मानीत व्यक्तित्व एवं मेयर मिठाराम अधिकारीले स्थापनाकालदेखि हालसम्मको लोयल्टी एकेडेमीको शैक्षिक उन्नयनको चर्चा गर्दै विद्यालयले आफुलाई सम्मान गरेकोमा आभार प्रटक गरेका थिए ।
यस्तै, कार्यक्रमका प्रमुख अतिथि सांसदसाँवाले विद्यालयले मुलुकका लागिमात्र नभई विश्व बजारमा सक्षम विद्यार्थी उत्पादन गर्नुपर्ने विषयमा जोड दिँदै लोयल्टी एकेडेमीले यो दिशामा कार्य गरिरहेको अनुभुत गरेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेर अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । नर्सरीदेखि कक्षा १२ सम्मका कक्षाहरु सञ्चालन गरिरहेको लोयल्टी एकेडेमीमा हाल करिब एक हजार विद्यार्थी अध्ययनरत छन् ।