काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेको छ ।
आइतबार बन्चरे डाँडाँ स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय समेत गरेको हो ।
बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएको चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
उक्त समिति २०७८ साल फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन लागि विभिन्न विकल्पका बारेमा अघि बढ्न सकिने उल्लेख गर्र्नुभयो । यसमा देखिएका समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए ।
बैठकमा ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले उपत्यकाको फोहर व्यवस्थापनका लागि दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए । उनले फोहर व्यवस्थापका लागि महानगरले पहल गरेपनि बिभिन्न समस्या देखिने गरेको धारणा राखे ।
मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाका फोहर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिने र स्थानीय माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएको बताए । त्यस्तै फोहर ओसार्नका लागि बैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामै विसर्जन गरी मल बनाउनेलगायत विषयमा निर्णय भएको उनले जानकारी गराए ।