काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा एक लाख जरिवाना गरिएकाे पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालकिाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । एमालेले आफू आयोजक नभएको भन्दै पत्र लिन अस्वीकार गरेको छ । यससँगै महानगरपालिकाका टोली त्यसै फर्किएकाे छ ।
महानगरपालिका प्रहरी बलका इन्स्पेक्टर किशाेर भट्टराई पार्टी कार्यालयमा पत्र दर्ता हुन नसकेको बताए । एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जिल्ला कमिटी भएकाले जरिवानाकाे पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेकाे हाे ।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई एक लाख जरिवाना गर्ने निर्णय गरेको थियाे ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकिय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाकाे आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएकाे महानगरपालिकाले जनाएको छ । सोहिअनुसार उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू आइतबार दउिँसो पार्टी कार्यालय पुगेका हुन् । एमालेका नेताहरुले उक्त पत्रको आलोचना गर्दै बालेनले स्टन्ट गरेको संज्ञा दिँदै आएका छन् ।