Logo
Logo

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख


315
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।

कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए । उनले नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश, द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरे ।

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्रा ऐतिहासिक मोडका रूपमा रहेको बताए । ‘शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्गप्रशस्त गरेको छ’, उनले भने ।

जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।

शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरे ।

सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनःदोहर्‍याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे । ‘शान्ति उपहार होइन; यो एउटा लक्ष्य हो’, उनले भने, ‘शान्तिको प्रवर्द्धनका लागि सामूहिक एकता र सृजनशील प्रयास आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्