काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)का पाइलटको आन्दोलनका कारण निगमको उडान प्रभावित भएको छ । पाइलटहरूले हडताल गरेपछि निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।
सेवा सुविधा कम भएको भन्दै निगममा स्थायी पाइलटहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । विमानस्थल पुगेका यात्रुहरू पाइलट आन्दोलनका कारण घण्टौँ बसेर फर्किन बाध्य भएका छन् ।
आन्दोलनले काठमाडौं–मुम्बई तथा काठमाडौं–दुबई उडान प्रभावित भएको छ । काठमाडौं–मुम्बई उडानका १४९ यात्रु र काठमाडौं–दुबई उडानका १६४ यात्रु विमानस्थल पुगेका थिए । दिल्लीबाट काठमाडौं आउने यात्रुहरूलाई समेत अन्तिम समयमा उडान रद्द भएको भन्दै फर्काइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले काठमाडौं–मुम्बई उडान आजै हुने र दुबई जाने यात्रुहरूलाई निगमले होटेलमा लगेर राखेको बताए ।
निगमका स्थायी पाइलटले सेवा सुविधा कम भएको भन्दै आइतबारदेखि हड्तालमा उत्रिएका हुन् । निगममा पाइलटको करार र स्थायी गरी दुई दरबन्दी छ । स्थायी पाइलटले सेवा सुविधा कमी भएको भन्दै आन्दोलनमा उत्रिएको निगम प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।