Logo
Logo

कोटा तोक्दै, धुलो दूध किन्दै


378
Shares

काठमाडौं । सरकारले किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको अवस्थामा कोटा तोकेर दूध किन्न निर्देशन दिइएको छ । जनताका लागि बनेको सरकारले किसानको छातीमा लाती हान्दै दूधको कोटा तोकेको हो ।

दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानप्रति बेइमान गर्दै बटर र धूलो दूध मौज्दात रहेको बहानामा डीडीसीले कोटा तोकेर दूध किन्न आयोजनालाई निर्देशन दिएको हो । निजी डेरीले नकिनेको दूध डीडीसीले खरिद गरेर बजारको सुनिश्चितता गरिदिनुपर्ने बेलामा कोटा तोकेपछि किसान मर्कामा परेका छन् ।

कात्तिक, मंसिर, पुस, माघ, फागुन र चैत महिना बढी दूध उत्पादन हुने सिजन हो । त्यसपछि सुक्खा सिजन सुरु हुन्छ । सामान्यतः डेरीले बढी दूध उत्पादन हुने सिजनमा दूध खरिद गरेर पाउडर बनाउँछन् । सुक्खा सिजनमा दूध अभाव हुन नदिन पाउडर दूधमार्फत बजारको माग पूर्ति गर्ने हो । तर, बढी उत्पादन हुने सिजनमा स्टक देखाउँदै दूध संकलमा कोटा लगाइएको छ ।

कोटाभन्दा बढी खरिद गरे आयोजना स्वयं जिम्मेवारी हुने सम्मको निर्देशन दिइएको छ । संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले यस्तो कोटा तोकेका हुन् ।

संस्थानसँग करिब ५ सय टन धूलो दूध र ५ सय टन मखन मौज्दात रहेको भन्दै दैनिक औसत कोटाअनुसार दूध संकलन गर्ने निर्णय गरिदिएका छन् । ०८१ कात्तिक २५ मा डीडीसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेर किसानलाई चरम मर्कामा पारेका हुन् ।

उनले दैनिक संकलनको अनुगमन गरी महाप्रबन्धकलाई रिपोर्टिङसमेत गराउनुपर्ने निर्णय गराएका छन् । रिपोर्टिङको जिम्मेवारी प्राविधिक व्यवस्थापन विभाग तथा आयोजनामा संकलन हुने दूधको गुणस्तरको अनुगमन गरी महाप्रबन्धकलाई रिपोर्टिङ गर्ने जिम्मा गुण नियन्त्रण तथा प्रविधि विकास विभागलाई दिएको छ ।

निर्णयअनुसार मंसिरमा दिनको १ लाख २ हजार लिटर मात्रै खरिद गरिनेछ, जसमध्ये काठमाडौं दुग्ध वितरण आयोजनाबाट दिनको ५० हजार, विराटनगर दुग्ध वितरण आयोजनाबाट १५ हजार, जनकपुर दुग्ध वितरण आयोजनाबाट ३ हजार, हेटौंडा दुग्ध वितरण आयोजनाबाट १२ हजार, लुम्बिनी दुग्ध वितरण आयोजनाबाट १२ हजार, नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट ६ हजार र धनगढी दुग्ध वितरण आयोजनाबाट ४ हजार लिटर खरिद गर्नेछ ।

यसबाट धुलो दूध खरिद गर्न उनलाई सहज भएको छ । अहिले नै धूलो दूध सिध्याएपछि खरिद गर्न सहज हुने भएकाले यस्तो विधि अपनाइएको स्रोतको दावी छ । डिडीसीले आयोजनाबाट पुसमा दिनको १ लाख १८ हजार लिटर, माघमा १ लाख १८ हजार लिटर, फागुनमा १ लाख २ हजार लिटर र चैतमा १ लाख २ हजार लिटर दूध खरिद गर्न कोटा तोएिको छ ।

डिडिसीले मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ भन्दा बढी जिल्लाबाट दूध संकलन गर्छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ । कोटा नै तोकेर दूध खरिदको परिमाण घटाउनु भनेको ‘मिल्क होलिडे’ गराउन खोज्नु र धुलो दूध किनेर कमिशनमा चल्नु खोज्नु रहेको डिडीसीकै एक कर्मचारीले बताए ।

कृषि मन्त्रालयको अध्ययनअनुसार दिनको औसत ७५ लाख लिटर दूध उत्पादन हुन्छ । ३७.५ लाख लिटर घर–घरमा सकिन्छ । बाँकी व्यापारिक प्रयोजनका लागि बजारमा आउँछ । ३७.५ लाख लिटरलाई शतप्रतिशत (१०० प्रतिशत) मान्ने हो भने ३४ प्रतिशत औपचारिक रूपमा कारोबार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्