काठमाडौं । राष्ट्रिय कर दिवसमा सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति र उद्योग, प्रतिष्ठानहरुलाई सरकारले मंसिर १ गते सम्मान गर्दै आएको भए पनि नेपालका एकमात्र डलर खर्बपति विनोद चौधरीले उक्त सम्मान अहिलेसम्म हात पार्न सकेका छैनन् । अन्ततः लाजगाल छोप्न ललितपुरबाट निर्वाण चौधरीले उत्कृष्ट करदाताबाट सम्मनित भएको प्रचार गरिएको छ । यसले सबैलाई आश्चर्यचकित बनाएको छ ।
यस वर्ष पनि राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिरहँदा विनोद चौधरीलाई असह्य पीडाबोध भएकै कारण उनले एक विज्ञप्ति प्रकाशित गरेर राजस्वमा १८ अर्बभन्दा बढी योगदान गरेको बताएका छन् । उक्त विज्ञप्तिले सबैलाई आश्चर्यचकित बनाएको छ । चौधरी ग्रुपले १८ अर्ब तिरेको भए पनि उत्कृष्ट करदातामा उनको नाम किन परेन भनेर व्यापारीहरुबीच खैलाबैला मच्चिएको छ । गत वर्ष पनि चौधरी ग्रुपको विज्ञप्तिले यस्तै खैलाबैला मच्चाएको थियो ।
यस विषयमा आन्तरिक राजस्व विभागमा बुझ्दा ‘राष्ट्रिय कर दिवसमा सम्मानितहरुको छनोट पारदर्शी रुपमा हुने बताए । यदि, चौधरी ग्रुपले १८ अर्ब आयकर तिरेको भए, त्यो नाम समावेश हुन्थ्यो । विभागले कसैमाथि पक्षपात गरेको छैन । सायद, चौधरी ग्रुपले भ्याट, अन्तशुल्कको रकमलाई जोडेर १८ अर्ब तिरेको भनेर जनतामा भ्रम सृजना गर्न खोजेको होला त्यो आयकर होइन’, भन्ने जवाफ पाइयो ।
मंसिर २ गते चौधरी ग्रुपले प्रकाशित गरेको विज्ञप्तिमा पनि राजस्वमा योगदान गरेको शब्द परेको छ, आयकर तिरेको कुरा विज्ञप्तिमा उल्लेख छैन । विज्ञप्तिमा भनिएको छ– ‘आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक बर्षमा राजश्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोड रूपैयाँले बढी हो । आर्थिक बर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।’
अर्को अचम्म राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाताको सूचीबाट बेपत्ता चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई आन्तरिक राजस्व कार्यालय ललितपुरले सबैभन्दा बढी आयकर तिरेको भनेर सम्मान गरेको छ । त्यही ललितपुरस्थित जावलाखेल डिष्टलरीका प्रबन्ध निर्देशक राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुने, अनि आन्तरिक राजस्व विभाग ललितपुरले सिजी मोटर्स प्रालिलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गर्ने कुरा विवादास्पद देखिन्छ ।
समाचार स्रोतका अनुसार सिजी मोटर्सले भन्दा बढी आयकर बुझाउने अन्य मोटर कम्पनीहरु छन् । चौधरी ग्रुपले जनतालाई भ्रममा पार्न सिजी मोटर्स सम्मानित भएको कुरालाई प्रमुखताकासाथ प्रचार गर्नुले वास्तविक उत्कृष्ट करदाताहरुको सम्मानमा आँच आएको छ ।
‘आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक वर्ष २०७९÷०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सिजी मोटर्सलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्’, समाचारमा भनिएको छ ।