काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले विरोध प्रदर्शन चर्काएपछि सरकारले सेना परिचालन गरेको छ ।
भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी प्रहरीहरु घाइते भएका छन् ।
स्थिति बिग्रिंदै जान थालेपछि सरकारले सेना परिचालन गरेको हो । इस्लामाबाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था बहाल गर्न सेनाको सहारा लिएको बीबीसीले जनाएको छ । यसको पुष्टि इस्लामावादका डेपुटी कमिश्नल इरफान मेमनले गरेका छन् ।
पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार सुरक्षा व्यवस्थामा खलल पु¥याउनेमाथि गोली हान्न पाउनेसम्मको अधिकार हुन्छ । इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताहरुले मार्चपास गर्दै इस्लामावादको संसदसम्म पुग्ने घोषणा गरेका छन् । उनीहरुलाई रोक्ने उद्देश्यले नाकामा कडाइ गरिएको छ ।