Logo
Logo

चूडामणि शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश


504
Shares

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सो आदेश दिएको हो । यो आदेशसँगै अब विशेष अदालतले गरेका फैसलाविरूद्ध सर्वोच्चमा दुवै तर्फबाट बहस हुनेछ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध कर फर्स्योट प्रकरण र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो । विशेष अदालतबाट कर फर्स्योट प्रकरणमा उनी दोषी ठहर भएका थिए भने अकुत सम्पत्ति आर्जनको अभियोगमा सफाइ पाएका थिए् ।

कर फर्स्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएको प्रकरणमा दोषी ठहर भएपछि सर्वोच्चमा पुनरावेदन गर्न पुगेका थिए । उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य–सचिव भएर काम गरेका थिए ।

अख्तियारले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

विशेष अदालतले ९ वर्ष कैद गर्नुका साथै बिगो र जरिवाना तोकेको थियो । महतलाई ९ वर्ष १ महिना कैद तोकिएको थियो । ढकाल र शर्मालाई त्योभन्दा एक महिना कम ९ वर्ष कैद सजाय तोकिएको छ ।

प्रत्येकले बिगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेषको फैसला छ ।

हाल शर्मा र महत कारागार कार्यालय, डिल्लीबजार, काठमाडौँमा छन् ।

प्रतिक्रिया दिनुहोस्