काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भएको भर्चुअल कुराकानीको नेपाल र अमेरिका दुवैतिर मिडिया ट्रायल जारी छ । ओली र मस्कबीचको अचानक संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि यसको रहस्य के हो भन्ने जिज्ञासा जागेको छ । यसैले मस्कलाई नेपालमा लगानी भित्र्याउन ओलीले आग्रह गरेको चर्चा गरिरहेका छन् त कसैले मस्कमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बढाउन यो नाटक गरेको चर्चा गरेका छन् ।
जे होस्, बेलाबेला आफूमाििथ लागेको आरोप ‘डाइभर्ट’ गर्न ओली खप्पिस छन् । कतिपय कूटनीति क्षेत्रका जानकारहरुले ओली मस्कको संवादलाई रणनीतिक दृष्टिकोणले हेरिरहेको हुँदा चीन भ्रमण अगाडिको यो वार्तालाई रहस्यमय ठानिएको छ ।
केहीले ओली समाचार र गसिपका कारखाना नै हुन् भन्दै यसलाई गसिपकै रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूको बिचारमा कम्बोडिया लगानी कनेक्सनमा तानिएर युट्युव र सामाजिक सञ्जालमा हिट भएपछि त्यसलाई फ्लप बनाउन ओलीले यो नयाँ फण्डाको मिडिया ट्रायल गरेका हुन् । उता मस्क पनि त्यस्तै फण्डावाल भएकाले दुवैको वेभ लेन्थ मिलेको भनेर पनि उनीहरूले थपेका छन् ।
केहीले यो परिघटनालाई गसिपकै रूपमा लिइरहेका भए पनि केहीले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसका दुई फरक डाइनामिक्स छन् ।
पहिलो ओलीको कोणबाट हेरौं, ओली ट्रम्पका दाहिने हात मानिएका मस्कसँगको भर्चुअल कुराकानीमार्फत गरेर आफू ट्रम्पको घेरामा पुगेको देखाउन चाहन्थे । भारतले निम्ता नदिएर चाइना कार्ड खेल्न चीन लागेका उनलाई यसबाट भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीलाई पनि केही सन्देश पुग्ने लागेको हुनसक्छ ।
दोस्रो मस्कको कोणबाट हेरौं । उनी योजनाबद्ध रूपले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गरेर चीनको सूचनामा जासुसी गर्न चाहन्छन् । त्यसका लागि उनले आफ्ना केही रणनीतिक कर्मचारीलाई नेपाल पठाएर सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई समेत भेटिसकेका छन् । सञ्चारमन्त्री ओलीलाई भेटाउने माध्यमबाटै ओली–मस्कबीचको भर्चुअल संवाद सम्भव भएको हो ।
आफ्नो क्षमताभन्दा बढी गर्न सक्छु भन्ने खालको भ्रम दिने औषधि सेवन गरिरहेका मैक्लन ओलीको कोण खासै अर्थ राख्ने नभए पनि धूर्त मस्कको कोण भने गम्भीर छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा गरिएको यो संवादको धेरै गम्भीर अर्थ र उपयोगिता हुनसक्छ ।
यो संवाद सुनियोजित रूपमा बाहिर ल्याइएको छ । संवाद स्याटलाइट इन्टरनेट सेवा स्टारलिंकको सम्भावित प्रयोगकै बारेमा भनेर ट्रायल बलुन गरिए पनि यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीले अमेरिकाको मन्त्रीस्तरको जिम्मेवारीमा नियुक्त मस्कसँग पररास्ट्र मन्त्रालयको प्रतिनिधि समेत नराखी गरिएको यो संवाद आफैंमा रहस्यमय र गैरकूटनीतिक छ । यसलाई सहज रूपमा लिन नहुने अन्तर्राष्ट्रिय सम्बन्धका एक जानकार बताउँछन् ।
चीनले नेपालमा मस्कको स्याटलाइट इन्टरनेट प्रयोगको प्रक्रिया अगाडि बढाइएकोमा सुरूदेखि नै चनाखोका साथ हेरिरहेको छ । चीनको परराष्ट्र मन्त्रालयका एक अधिकारीले ओली–मस्क संवाद भएको चीनको जानकारीमा आएको बताएका छन् । उनले नेपालमा स्टारलिंकको प्रवेश अमेरिकी योजनाअनुसार हुने र त्यसबाट तिब्बतको सुरक्षामा चुनौती थपिने बताएका छन् ।